निर्देशक प्रदीप भट्टराई निर्देशित तेस्रो चलचित्र ‘जात्रै जात्रा’ ले अहिले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको छ । दर्शक र समीक्षक दुबैैले चलचित्रको तारिफ गरेका छन् । वर्ड अफ माउथ बलियो हुँदा चलचित्र हेर्ने दर्शक विना विदाको दिन पनि हलमा ओर्लिएका छन् । सिंगलमा औसत रहे पनि मल्टीप्लेक्समा भने चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।
सार्थक सिक्वेलको रुपमा ब्याख्य भइरहँदा यो चलचित्र हेर्न विभिन्न फिल्मकर्मीहरु पनि हल पुगिरहेका छन् । आइतवार अभिनेता भुवन केसी र अभिनेत्री करिश्मा मानन्धरले चलचित्र हेरेपछि निर्देशक भट्टराईको निर्देशकिय क्षमता, स्क्रिनप्ले र कलाकारकोे अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सोमवार बरिष्ठ हास्यकलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि राजधानीको बिग मुभिज पुगेर ‘जात्रै जात्रा’ हेरेका छन् ।
चलचित्र हेरेपछि हरिवंशले निर्देशक प्रदीपको काम देखेर आफूलाई गर्व लागेको बताए । लामो समय मह सञ्चारमा आबद्ध रहेर प्रदीपले आफूलाई निर्देशकको रुपमा निखार्ने अवसर पाएका थिए । उनले थुप्रै हास्य टेलिसिरियलमा सहायक निर्देशक र निर्देशक भएर काम गरेका थिए । भने, मह सञ्चारको चलचित्र ‘शत्रु गते’ को निर्देशन समेत गरेका थिए ।
निर्देशक भट्टराईलाई अंकमाल गर्दै हरिवंशले भने- ‘मेरो छोरा, मेरो भाई प्रदीपलाई देखेर गर्व लाग्यो । साह्रै राम्रो सुटिङ स्क्रिप्ट बनाउनुभएको रहेछ । उसमा झन् परिपक्वता देखेँ । चलचित्र साह्रै राम्रो छ ।’ ‘जात्रा’, ‘शत्रु गते’ भन्दा ‘जात्रै जात्रा’ झनै राम्रो रहेको उनको भनाई छ । उनले हाल प्रदर्शनरत मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ भन्दा पनि ‘जात्रै जात्रा’ निकै राम्रो रहेको बताए । मदनकृष्णले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
केही हप्ता अगाडि ट्युमरको अप्रेसन गरेकी अभिनेत्री श्वेता खड्का पनि सोमवार ‘जात्रै जात्रा’ हेर्न हल पुगेकी थिइन् । उनले चलचित्र हेरेर आफू धेरै हाँसेको बताइन् । ‘चिकित्सकले मलाई ‘बेड रेस्ट’ गर्नु सुझाव दिनुभएको छ । तर, ‘जात्रै जात्रा’ मलाई रेस्ट गर्न दिएन । किनकि, चलचित्र हेरिरहँदा म हाँसेको हाँस्यै भएँ । चलचित्र एकदमै राम्रो लाग्यो’, उनले भनिन् । यस्तै, लेखक सुविन भट्टराईले चलचित्र हेरेपछि निर्देशकको आफू ठूलो प्रशंसक भएको बताए ।