चलचित्र पत्रकार संघको वार्षिक उत्सवः भट्टराई र स्मृत सम्मानित | गिरी, थापा र पोखरेल पुरस्कृत



चलचित्र पत्रकार दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच आफ्नो २०औं बार्षिक उत्सवको अवसरमा संघले नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकार सम्मान २०७६’ र कुवेर गिरी र शारदा थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ प्रदान गरेको छ ।

यस्तै, गएको दुई वर्षदेखि वितरण गर्न थालिएको ‘प्रोत्साहन पुरस्कार २०७६’ मेरो फिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई एक थान ल्यापटप, ताम्रपत्र र ट्रफीसहित प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मानित तथा पुरस्कृत पाँच जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।


पुरस्कृत गिरी र थापालाई २१ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । आफ्नो स्थापना दिवस ७ जेठलाई संघले चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । संघले सम्मान र पुरस्कारसहित विभिन्न कार्यक्रम गरेर चलचित्र पत्रकारिता दिवस मनाएको हो । मंगलवार संघको हेटौंडा शाखाले पनि विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार वितरण गरेको छ ।

संघको वार्षिक उत्सवमा बोल्दै राज्यमन्त्री बाँस्कोटाले चलचित्र पत्रकारको हकहितमा काम गर्न राज्य सधैं तयार रहेको बताए । उनले भने- ‘सबै क्षेत्र सबल भएमात्र देश विकास हुन्छ । चलचित्र पत्रकारिताको क्षेत्रमा सरकारले गर्न सक्ने सबै सहयोग गर्नेछ ।’ कार्यक्रममा पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

करिश्मा मानन्धर, भुवन केसी, दीपकराज गिरी, केदार घिमिरे, नीता ढुंगाना, रमेश उप्रेतीलगायतका फिल्मकर्मीहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले नेपाली चलचित्रको विकासमा चलचित्र पत्रकारको योगदानको चर्चा गर्दै संघ सधै पत्रकारहरुको हकहितका लागि तत्पर भएर लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu