सफल चलचित्र ‘प्रेमगीत’ को सिरिज ‘प्रेमगीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागि २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएको निर्माण कम्पनी आसुसेन फिल्म्स प्रोडक्सनले जानकारी दिएको छ । आवेदन दिएकाहरु मध्येबाट शुक्रवार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो ।

‘गीत’ को लागि आएका आवेदनबाट उत्कृृष्ट २५ छनोट गर्न निकै गाह्रो भएको निर्माता सेन बताउँछन् । ‘‘प्रेमगीत’ मा पूजा शर्मा र ‘प्रेमगीत २’ मा अश्लेषा ठकुरीले ‘गीत’ को भुमिका निभाउनुभएको थियो । ‘प्रेमगीत ३’ मा नयाँ लुक्सलाई भित्राउने हाम्रो तयारी हो । उत्कृष्ट २५ मा छानिएका मध्येबाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकलाई ‘गीत’ क्यारेक्टरमा छान्नेछौं’’, उनले भने ।
हरेक पार्टमा लिड अभिनेत्री र निर्देशक परिवर्तन गर्दै आइरहेका निर्माता सन्तोषले ‘प्रेमगीत ३’ लाई आफैंले निर्देशन गर्दैछन् । उनलाई छेतेन गुरुङले निर्देशनमा सघाउँदैछन् । चलचित्रको कथा छेतेनकै हो । केही दिनयता निर्माण टिम लोकेशन हन्टिङ र स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छ । फ्लोरमा नजाँदै चलचित्रको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ । चलचित्रमा प्रदीप खड्का प्रमुख भूमिकामा हुनेछन् ।




