एक समय एकसेएक सुपरहिट चलचित्र दिएका निर्देशक मदन घिमिरे केही वर्षयता चलचित्र निर्देशनभन्दा सामाजिक कार्यमा बढी व्यस्त छन् । ‘बुबा-आमा’, ‘जीवन दाता’, ‘दादागिरी’, ‘दोस्ती’ लगायतका दर्जन बढी सफल चलचित्र निर्देशन गरिसकेका उनले केही वर्षको अन्तरालपछि नयाँ चलचित्र लिएर दर्शकमाझ आउँदैछन् । उनी निर्देशित चलचित्र ‘काउसो’ यही जेठ १७ मा रिलिज हुँदैछ ।
निर्माण पूरा भएको लामो समयपछि प्रदर्शनका लागि तयार भएको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुको अभिनय छ । अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा निर्देशक घिमिरे स्वयंको हो ।

रातारात धनी बन्ने सपना बोकेर गाउँबाट राजधानी छिरेका युवाहरुले गलत काम गरेर कमाएको पैसा उपयोगमा आउन नसकेपछि उत्पन्न हुने समस्यामा चलचित्र आधारित छ । निर्देशक घिमिरेले आफूले यसअघि पारिवारिक चलचित्र बनाए पनि ‘काउसो’ पूर्ण कमेडी कथावस्तुमा निर्माण भएको बताएका छन् । चलचित्रमा एउटा पनि एक्सन दृश्य नभएको उनको भनाई छ ।
शुक्रवार राजधानीमा फिल्मको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता सविनले आफू यस चलचित्रबाट निकै आशावादी रहेको बताए । उनले भने- ‘मलाई ‘भाग सानी भाग’ पछि निकै रमाइलो लागेको चलचित्र हो ‘काउसो’ । चलचित्रले दर्शकलाई निराश बनाउँदैन । हाँस्दा हाँस्दै २ घण्टा वित्छ । अर्का कलाकार अर्जुन गुरुङले पनि चलचित्र उत्कृष्ट बनेको दावी गरे ।
चलचित्रको निर्मातामा सिताराम तिमल्सिना ज्याक र भगवान खत्री छन् । निर्देशक स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । रामेश्वर हुमागाइँको छायांकन रहेको चलचित्रको सम्पादन नविन निरौलाले गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् । चलचित्रमा विकास चौधरीको संगीत छ ।




