चलचित्र ‘छ माया छपक्कै’ मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्ध भएकी छन् । चलचित्रकी उनी लिड हिरोइन भने होइनन् । अभिनेत्री केकी अधिकारी मुख्य नायिकाको रुपमा छिन् । सुपुष्पाको भूमिका खासै लामो नरहेको निर्माण टिमले जानकारी दिएको छ । यद्यपि, उनको भूमिका दर्शकले याद गर्ने कलाकार तथा निर्माता दीपकराज गिरीले बताएका छन् । उनी भन्छन्, ‘चलचित्रमा उनको भूमिका छोटो छ तर यादगार छ ।
यो चलचित्रको अहिले सिन्धुलीमा धमाधम छायांकन भइरहेको छ । मुनाफाको ५० प्रतिशत लिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग दीपकराज गिरी र दीपाश्री निरौला समुहले यो चलचित्रमा सहकार्य गरेको हो । रोहित अधिकारीको एकल लगानीमा निर्माण हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । उनलाई निर्देशनमा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले सघाउने छिन् ।
निर्माण टिमले यो चलचित्रलाई दशैंमा प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । रिलिज अगावै चलचित्रले बक्सअफिसमा रेकर्डतोड व्यापार गर्ने आँकलन फिल्मवृतमा सुरु भइसकेको छ । चलचित्रको सुटिङ सेड्युल एक महिनाको छ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा केदार घिमिरे, जितु नेपाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्र खिच्ने जिम्मेवारी हरि हुमागाइँको काँधमा छ ।