तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित भएर निर्माण भएको चलचित्र ‘कीर्तिपुर स् द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ आउँदो असार १३ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमार्फत् चलचित्रमा अभिनय गरेका कलाकारहरुको चरित्र चित्रण गरिएको छ । चलचित्रमा अभिनेता यशराज गराचले पृथ्वीनारायणको भूमिका निभाएका छन् । यो उनले निकै आश गरेको चलचित्र हो । केही चलचित्रमा काम गरेर पनि आफूलाई अभिनेताको रुपमा स्थापित गर्न नसकेका यशराज ‘कीर्तिपुर’ करिअरको टर्निङ पोइन्ट बन्नेमा विश्वस्त छन् ।
साहित्यकार बासु पासाङद्धारा लिखित भैरवसिंह नामक उपन्यासमा आधारित उक्त चलचित्र फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको हो । चलचित्रमा यशराजका अलावा हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् ।
काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा उक्त चलचित्रको छायांकन भएको हो । प्रदीप खड्गी यसका निर्देशक हुन् । अनन्तलाई वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले लगानीमा सघाएका छन् । चलचित्रको ९० प्रतिशत दृश्य एनिमेसन गरिएको छ । चलचित्रमा कीर्तिलक्ष्मीको भूमिका हिसिलाले निभाएकी छन् । शंकर महर्जन र नविन जोशीले चलचित्रखिचेका हुन् ।