सरकारले काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । बुधवार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न फिल्म स्टुडियो निर्माण गरिने घोषणा गरेका हुन् ।
तर, सरकारले स्टुडियो निर्माणका लागि बजेट भने विनियोजन गरेको छैन । राजधानीमा अत्याधुनिक स्टुडियो निर्माण हुने भएपछि चलचित्रकर्मीको मुहारमा खुसी छाएको छ ।
आगामी वर्ष ‘छायांकनका लागि नेपाल’ भन्ने कार्यक्रम पनि सुरु गर्ने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा बताएका छन् । यस्तै, बजेटमा श्रमजीवि चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि जनाइएको छ ।