महँगो बजेटमा निर्माण भएको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति घोेषणा गरिएको छ । भदौ २७ गतेबाट चलचित्र देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । यस चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनले एक गीतमा नृत्य समेत गरेकी छन् । उनी फिचर्ड ‘सन्नी हो नाम मेरो’ गीत भने जेठ २० गते युट्युबमा रिलिज हुने निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।
सन्नीले पहिलो पटक नेपाली चलचित्रको गीतमा नृत्य गरेकी हुन् । उनले यो गीतमा कम्मर मर्काउन दुई करोड भारतीय रुपैयाँ बुझेको निर्माण टिमले बताएको छ । उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णु देभाले कोरियोग्राफी गरेका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप उनलाई गीतमा नृत्य गराइएको निर्देशक बस्नेत ले बताए । चलचित्र एबी इन्टरनेशनलको ब्यानरमा बनेको हो । चलचित्रमा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् ।
यो चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । अजित कुमार थापा सह-निर्माता रहेको चलचित्रमा अंकित गौतम कार्यकारी निर्मातामा छन् । चलचित्रमा सौरभ लामाको छायांकन छ । बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको चलचित्रमा अभिनय छ ।




