गएको जेठ ३ गतेबाट प्रदर्शनजमा आएको प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’ ले पहिलो हप्ताको तुलनामा तेस्रो हप्ता झन् बढी हल पाएको छ । चलचित्रले सिंगल पर्दा ३ दर्जन बढी पाएको थियो, पहिलो हप्ता । दोस्रो हप्ता एक दर्जनको आसपासमा बढ्यो । तेस्रो हप्ता चलचित्रले दुई दर्जन बढी हल बढाएको छ । यो चलचित्रको हल संख्या बढ्नुको कारण सँगै प्रदर्शनमा आएको चलचित्र ‘बीर विक्रम २’ ले अपेक्षाकृत व्यापार नगर्नु हो ।
तेस्रो साताबाट अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर चलचित्र ‘बीर विक्रम २’ प्रायः सिंगल पर्दाबाट उत्रिएको जानकारी प्राप्त छ । राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुले पनि यो चलचित्र हटाएर ‘जात्रै जात्रा’ लाई शो थपेका छन् । प्रदर्शनको पहिलो दिन क्यूएफएक्स चेनमा १९ सोज पाएको यो चलचित्रले तेस्रो हप्ताको पहिलो दिन २१ सोज हात पारेको छ । शनिवार पनि चलचित्रलाई २१ शो नै छ ।

यो चलचित्रलाई तेस्रो हप्ता पनि बिग मुभिज, विएसआर मुभिज, एफक्यूब र सिडिसीले समान ५/५ शो उपलब्ध गराएका छन् । मल्टीप्लेक्सहरुले यसलाई तेस्रो हप्ता पनि उच्च सोज बाँड्नुले ‘जात्रै जात्रा’ ले प्रदर्शनको दुई हप्ता आक्रामक व्यापार गरेको छर्लङ्ग हुन्छ । चलचित्रले तेस्रो हप्ता पनि बक्सअफिसमा राम्रो पैसा छाप्ने फिल्म पण्डितहरुको अनुमान छ ।
यसलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यो चलचित्र हिट भएसँगै उनले सफल निर्देशकको रुपमा ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित चलचित्र ‘जात्रा’ र ‘शत्रु गते’ पनि बक्सअफिसमा सुपरहिट साबित भएका थिए । ‘जात्रै जात्रा’ लाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको यसमा अभिनय छ ।




