मन्त्री बाँस्कोटाको चेतावनी : ‘बक्सअफिस लगाउन नमाने कारवाही हुन्छ’



उपत्यकाभित्र बक्सअफिस लागू भएको वर्ष दिन वित्न लाग्दा अब यही असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्सअफिस लागू हुने भएको छ । शनिवार सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उपत्यका बाहिरको बक्सअफिस (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम) को उद्घाटन गरेका छन् । उनले असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ सिस्टम लागू हुने बताएका छन् ।

मन्त्री बाँस्कोटाले कार्यक्रममा आफ्नो भनाई राख्दै भने- ‘प्रत्येक व्यवसाय पारदर्शी हुनुपर्छ । व्यावसायिक शुद्धताले राज्य र पेशालाई मर्यादित बनाउँछ । नागरिकले हल-हलमा पुगेर टिकट लिने तर कागजको खोस्टामा हिसाब राख्ने, यो डरलाग्दो सामाजिक भष्ट्राचार हो । यसलाई हटाउन पछिल्ला प्रविधिलाई प्रयोग गर्दै पारदर्शी बनाउन लागेका हौं ।’ उनले नयाँ कुरा लागू गर्न निकै गाह्रो हुने पनि अनुभव सुनाए ।


अरुले के गर्छन् भन्दा पनि आफूले के सकिन्छ त्यही गर्नुपर्नेमा उनको जोड छ । उनले हल नै चल्न छाडेको खण्डमा सरकारले हेर्ने पनि बताए । उनी भन्छन्, ‘बक्सअफिस भष्ट्राचारमाथिको सशक्त प्रहार हो । फिल्मको सवलीकरण पनि हो । फागुनमा नै लागू हुनु पर्ने बक्सअफिस २ महिना ढिला भयो । अब कुनै हालतमा लागू हुन्छ ।’ बक्सअफिस लागू गर्नका लागि सम्पूर्ण हल सञ्चालकहरु मानसिक रुपमा तयार हुन पनि मन्त्री बाँस्कोटाले आग्रह गरे ।

बक्सअफिस लागू गर्न नमाने कारवाहीको भागीदार हुनु पर्ने पनि उनले चेतावनी दिएका छन् । ‘यो चुनौती होइन, हल सञ्चालकहरुलाई अनुरोध हो । अटेर गर्नुहुन्छ भने सरकार पनि चुप लागेर बस्दैन’, उनी कड्किए । मन्त्री बाँस्कोटाले काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न फिल्म स्टुडियो यही वर्ष निर्माण हुने पनि उनले बताए । ‘छायांकनका लागि नेपाल भन्ने कार्यक्रम पनि अगाडि बढ्छ । सरकार फिल्म क्षेत्रको विकास चाहन्छ’, उनले भने ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद सखी, बोर्ड सदस्य नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँगै स्थानिय जन प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष भट्टराईले असार मसान्तसम्ममा सबैतिर इ- टिकेटिङ लागू हुने दावी गरे ।

उनले भने- ‘साउन १ गतेसम्म पनि हल सञ्चालकले इ-टिकेटिङ लागू नगरे कारवाही सुरु गर्छौं । हामी सकेसम्म कारवाही गर्ने सोचमा छैनौं । अटेर गर्नेलाई छाड्दैनौं ।’ बोर्डले देशभरका ८० हललाई निःशुल्क रुपमा कम्प्युटर, प्रिन्टर, राउटरलगायत आवश्यक उपकरण दिएको बताउँदै जसको प्रमुख उद्येश्य इ-टिकेटिङमार्फत टिकट जारी गर्नु रहेको उनको भनाई छ । उपत्यकाभित्र लागू भएको बक्सअफिस पनि कार्यन्यवनमा ल्याउने उनको भनाई छ ।


बोर्ड सदस्य नरेन्द्र महर्जनले कार्यक्रममा आफ्नो भनाई राख्दै साउन १ गतेभित्र देशभर बक्सअफिस लागू हुने दावी गरे । उनले भने- ‘बक्सअफिस हामी सम्पूर्ण चलचित्रकर्मीहरुको सपना थियो । अब हामी त्यो सपनाको नजिक पुगेका छौं ।’ निर्माता संघका अध्यक्ष अधिकारीले बक्सअफिस लागू गर्न सरकार आफैं अग्रसर भएकोमा खुसी व्यक्त गरे ।

‘हामीले प्रविधिलाई आत्मसात् गर्न अत्यन्त आवश्यक छ । दर्शकलाई उत्कृष्ट सेवा दिनका लागि पनि प्रविधिलाई आत्मसात् गर्नुपर्छ’, उनी अगाडि भन्छन्, ‘राज्य माथि गयो भने मात्र सबै क्षेत्रको विकास हुन्छ । हिसाब पारदर्शी हुनुपर्छ । सरकारलाई ट्याक्स तिर्नुपर्छ । ट्याक्स तिरेपछि सरकारले पनि सुविधा दिनुपर्छ ।’ उनले सबै चलचित्रकर्मीलाई इमान्दार हुन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu