चलचित्र ‘मिस्टर नेपाली’ बाट अभिनेता भुवन केसीले लामो समयपछि चलचित्र अभिनयमा कमब्याक गर्ने भएका छन् । चलचित्र ‘ड्रिम्स’ बाट निर्देशनमा समेत डेब्यू गरिसकेका उनी देव भुषालको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘मिस्टर नेपाली’ मा दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् । उनले लामो चलचित्र करिअरमा कहिल्यै दोहोरो भूमिका निभाएका थिएनन् ।
यसमा उनी एक छोरा र पिताको भूमिकामा हुनेछन् । एउटा भूमिका भने नेगेटिभ छ । चलचित्रको सोमवारबाट छायांकन सुरु भएको छ । सोमवार विहान कमलादीमा रहेको गणेश मन्दिरमा चलचित्रको शुभ साइत गरिएको छ । उक्त समारोहमा यस चलचित्रबाट डेब्यू गर्न लागेका साहिल श्रेष्ठ र कुशुम राउतले मुहूर्त सट दिएका थिए । चलचित्रमा दुईको जोडी बाँधिनेछ ।
अभिनेता भुवनले अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गर्नेछन् । कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । प्रेमराज दाहालको लगानीमा निर्माण हुने चलचित्रलाई निरज कँडेलले खिच्नेछन् । जीवन थापाको काँधमा सम्पादनको जिम्मेवारी छ । चलचित्रका गीतमा दीपक शर्मा र सुभाष भुषालको संगीत रहनेछ ।
अभिनेता भुवनले आफ्नो भूमिका र स्क्रिप्ट मन परेका कारण काम गर्न राजी भएको चलचित्रको मुहूर्त समारोहमा बताए । रीमासँग अनस्क्रिन रोमान्स गर्न पनि आफू निकै उत्साहित रहेको उनको भनाई छ । उनी भन्छन्, ‘मैले कहिल्यै चलचित्रमा दोहोरो र नेगेटिल रोल निभाएको थिइनँ । मलाई नेगेटिभ रोल गर्न चाहिँ एकदमै मन थियो । ‘मिस्टर नेपाली’ मा मेरो एउटा भूमिका नेगेटिभ छ । चलचित्रले राष्ट्रियताको कथा उठाएका कारण पनि म काम गर्न राजी भएको हुँ ।’
उनी रीमा आफ्नो मनपर्ने अभिनेत्री रहेको बताउँछन् । रीमा पनि आफ्नो मनपर्ने अभिनेतासँग स्क्रिन साझेदार गर्न निकै उत्साहित रहेको बताइन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व रहनेछ । कविराज गहतराजले चलचित्रका गीतमा कोरियोग्राफी गर्नेछन् । निर्देशक भुषालले चलचित्रलाई राम्रो बनाउन आफूले इमान्दार प्रयास गर्ने बताए ।
उनी भन्छन्, ‘चलचित्रले हाम्रै समाजको कथा भन्छ । अहिलेको अवस्थामा हरेक घरबाट विदेश नजाने मान्छे भेटिन गाह्रो पर्छ । चलचित्रको कथा यही सेरोफेरोमा छ ।’ नव-अभिनेता साहिल र अभिनेत्री कुशुमले आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउन मिहिनेत गर्ने बताए ।