फेरि होम प्रोडक्सनको चलचित्रमा अनमोल



अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसी गएको वर्ष दुई चलचित्रमा देखिए ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ । दुई चलचित्र डेढ महिनाको अन्तरमा रिलिज हुँदा उनलाई निकै सकस भएको थियो । यसैले अहिले उनी अहिले ‘सर्ट टर्म विश्राम’ लिएर बसेका छन् । यस वर्ष उनको नयाँ चलचित्र प्रदर्शनमा आउने सम्भावना निकै न्यून छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ पछि उनले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । चलचित्रको अफर भने उनलाई दिनमै आधा दर्जनभन्दा बढी आउने गरेका छन् । तर, उनी केही महिनाको विश्रामपछि मात्र नयाँ चलचित्र गर्ने मनस्थितिमा छन् । सबै कुरा मिले उनले झरना थापाको चलचित्र ‘भगवात गीत’ गर्ने सम्भावना बलियो छ ।


चलचित्र ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईसँग पनि उनको सहकार्य हुन सक्ने प्रवल सम्भावना छ । ‘कागजपत्र’ फेम्ड निर्देशक अपिल विष्ट, ‘त्यान्द्रो’ निर्देशक सान्तेन भुटिया, ‘द म्यान फ्रम काठमाडौं’ निर्देशक पेमा धन्डुपले पनि अनमोललाई चलचित्र अफर गरेका छन् । तर, उनले कसैलाई गर्ने वा नगर्ने निर्णय दिएका छैनन् । यसबीच, उनले फेरि एकपटक घरको चलचित्रमा काम गर्ने भएका छन् ।

‘काजल फिल्मस्’ को ब्यानरमा पिता भुवन केसीले निर्माण गरेको दुई चलचित्र ‘ड्रिम्स’ र ‘क्याप्टेन’ मा काम गरिसकेका अनमोल फेरि एकपटक होम प्रोडक्सनको चलचित्रमा काम गर्दैछन् । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले जानकारी दिएका छन् । भदौ वा असोजबाट चलचित्रको छायांकन सुरु हुन सक्ने उनको भनाई छ । निर्देशन उनी स्वयंले गर्ने चर्चा छ ।

यसअघि चलचित्र ‘ड्रिम्स’ निर्देशन गरेका भुवनले सोमवार आफ्नो प्रमुख भूमिका रहने चलचित्र ‘मिस्टर नेपाली’ को शुभ मुहूर्त समारोहमा भने- ‘अनमोल फेरि होम प्रोडक्सनको चलचित्रमा काम गर्दैछ । अहिले स्क्रिप्टमा काम भइरहेको छ । तर, निर्देशन मैले नै गर्छु वा अरुले त्यो भने पक्का भएको छैन ।’ प्राप्त जानकारी अनुसार, उनी प्रदीप भट्टराईलाई निर्देशकको जिम्मेवारी सम्पने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu