प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’ ले शुक्रवारबाट चौथो हप्तामा प्रदर्शन सुरु गर्दैछ । प्रदर्शनको तीन हप्ता चलचित्रले बक्सअफिसमा लोभलाग्दो व्यापार गरेको छ । बक्सअफिसमा आक्रामक व्यापारको रफ्तारलाई चलचित्रले तेस्रो हप्ताको अन्त्यसम्म पनि निरन्तरता दिएको छ । बलियो ‘वर्ड अफ माउथ’ का कारण चलचित्र हेर्ने दर्शक घटेका छैनन् ।
चलचित्रको तीन हप्ता लामो दबदबा बुधबारबाट भने लगभग तोडिएको छ । किनकि, इदको मेसो पारेर बुधबारबाट बलिउडका शक्तिशाली अभिनेता सलमान खान अभिनीत चलचित्र ‘भारत’ प्रदर्शनमा आएको छ । यो फिल्मलाई नेपालका मल्टीप्लेक्सहरुले सर्वाधिक सोज बाँड्दा ‘जात्रै जात्रा’ न्यून शोमा खुम्चिनु परेको छ । चलचित्रले राम्रो दर्शक पाइरहेको अवस्थामा मल्टीप्लेक्सहरुले ठूलो संख्यामा शो घटाएका छन् ।

नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले राजधानीका आफ्नो पाँच स्टेशनमा प्रदर्शनको पहिलो दिन ‘जात्रै जात्रा’ लाई १९ शो दिएको थियो । दोस्रो हप्ता पनि चलचित्रले यही आसपासमा शो पाएको थियो । तेस्रो हप्ता (मंगलवारसम्म) भने क्यूएफएक्सले चलचित्रलाई थप २ शो बढाएर २१ पुर्यायो । बुधबारबाट ‘भारत’ का कारण चलचित्रको शो संख्यामा निकै कमी आएको छ ।
चलचित्रले क्यूएफएक्समा बुधबार ७ शो पायो । सबै शो हाउसफुल भए । बिहीवार पनि चलचित्रलाई ७ शो नै छ । राजधानीका अन्य मल्टीप्लेक्सहरुले तेस्रो हप्ता (मंगलवारसम्म) पनि चलचित्रलाई राम्रो शो उपलब्ध गराएका थिए । बुधबारबाट सबैले शो घटाएका छन् । ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराई र निर्माता र रविन्द्र सिंह बानियाँले चलचित्रको शो घटेकोमा दुखेसो पोखेका छन् ।
निर्देशक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आफ्नो व्यापार व्यावसाय हो । आफू खुसी गर्न पाइएला । तर, व्यवसायिक धर्म भन्ने पनि त हुन्छ होला ? हामीले जति डिजर्भ गर्छौं त्यत्ति मागेका हौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुको मेरा भारत महान भनेको पनि देखियो । हल आफ्नो हुनेहरुले आफ्नो फिल्मको लागि मन खुसी शो राखे पनि दर्शकको मन खुसी नहुँदा कुन हालत भयो, देखेकै हो ।’
हल कब्जा गरेर मात्र दर्शक हलमा नआउने बताउँदै उनले अगाडि लेखेका छन्, ‘मेरिट अनुसार पाउनु पर्ने शो नपाए पनि हामीले पाउनु पर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौं । अन्तिम सत्य दर्शक नै हुन् । आज टिकट नपाउनु हुने दर्शकप्रति क्षमा चाहन्छौं ।’ उनको यो स्टाटस निर्माता बानियाँले पनि साझेदार गरेका छन् । ‘भारत’ का कारण ‘जात्रै जात्रा’ को शोमा कमी आएपछि यसको निर्माण पक्ष असन्तुष्ट देखिएको छ ।




