काठमाण्डौ। पश्चिम नेपालको धौलागिरी क्षेत्रबाट लामो समय देखि नेपाली गीत सङ्गीतमा रही योगदान पुर्याएका कलाकारहरु सम्मानित हुने भएका छन् । धौलागिरी सांस्कृतिक समिति काठमाडौ नेपालले एक कार्यक्रमको आयोजना गरी श्रष्टा सम्मान गर्ने बताएको छ ।
‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने मुल नाराका साथ समितिले हाँस्यकलाकार कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा सङ्गीतकार शम्भुजित बास्कोटाको बिशेष आतिथ्यतामा डेलिस ओपेरा बालुवाटारमा बृहत कार्यक्रम हुने समिति अध्यक्ष कृष्ण समीप सुवेदीले बताए । यसबर्ष देखि समितिले हरेक बर्ष ‘धौलागिरी साधना सम्मान’ र ‘धौलागिरी युवा सम्मान’बाट कलाकारलाई सम्मानित गर्ने समितिले घोषणा गरेको पनि उनले बताए ।
यो बर्षको ‘धौलागिरी साधना सम्मान’ का लागी गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरिने बताइएको छ भने ‘धौलागिरी युवा सम्मान’ बाट अहिलेको बहुचर्चित गीत सालको पातको तपरी हुनि गीतका लागि गायक कुलेन्द्र बिश्वकर्मा,सङ्गीतकार वसन्त थापा र गीतकार नबराज पन्त लाई सम्मानित गरिने जनाइएको छ । धौलागिरी क्षेत्र बाहिरबाट एक चर्चित कलाकारलाई ‘धौलागिरी राष्ट्रिय सम्मान’ र धौलागिरी क्षेत्र भित्रैबाट एक जनालाई ‘धौलागिरी बिशेष सम्मान’ प्रदान कार्यक्रम पनि रहेको छ भने कार्यक्रमको दिन नै उक्त सम्मानको घोषणा तथा बितरण हुने बताइएको छ ।
यस कार्यक्रमबाट गण्डकी सभ्यता बचाउ महाअभियानमा समेत सकारत्मक प्रभाव पार्ने बताइयको छ । उक्त कार्यक्रममा सम्मान सँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पनि जनाइएको छ । धान दिवसको पूर्व सन्ध्यामा हुन लागेको उक्त अवसरमा प्रवेश निःशुल्क रहेको बताईएको छ । उपस्थित हुने सबैलाई दहि चिउरा खुवाइने कार्यक्रम रहेको पनि अध्यक्ष सुवेदीले बताए ।