गएको २ वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को तेस्रो संस्करण २०२० फेब्रअरी १३ देखि १७ सम्म काठमाडौंमा हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने निफको तेस्रो संस्करणको बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो ।
‘हामीले निफको तेस्रो संस्करणलाई अझै विस्तार गर्दै फैल्याएका छौं,’ अध्यक्ष केपी पाठक भन्छन्, ‘यस किसिमको फेस्टिभलले फिल्मकर्मीलाई प्रोत्साहित गर्छ भन्ने विश्वास छ ।’ उनले अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशीमा वृद्धि गरेको समेत बताए । फेस्टिभलमा यो वर्ष एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको छ ।
फेस्टिभलमा एनिमेटेड विधामा पुरस्कृत हुने उत्कृष्ट एनिमेटिड चलचित्रलाई ७ सय ५० अमेरिकी डलर राशीको मञ्जुश्री अवार्ड, अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशीको गौतमबुद्ध अवार्ड, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अर्वाड प्रदान गरिनेछ ।
यस्तै, नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई १ लाख राशीको नगदसहित पुरस्कार, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजारसहित पुरस्कार र सर्ट मध्येबाट उत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी प्रदान गरिने अध्यक्ष केपी पाठकले बताए । फिचर चलचित्र तर्फबाट उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । फेस्टिभलमा सहभागिताका लागि यही २०१९ जुन १५ देखि अक्टोबर ३० सम्म आवदेन दिनु पर्नेछ ।
फेस्टिभलसँगै बलिउड, हलिउड र चाइनिज चलचित्रका लेखक ल्याएर नेपालमा वर्कशप गराउने तयारीमा पनि नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान जुटेको छ । यही अगस्ट २१ देखि २७ सम्म स्क्रिन राइटिङ वर्कसप (पटकथा लेखन कार्यशाला) पनि सञ्चालन गर्ने पत्रकार सम्मेलनमा गराइयो । मकवानपुरको इन्द्रसरोबर, कुन्साल वा चित्लाङमध्ये कुनै एक ठाउँमा कार्यशाला हुने कार्यक्रम संयोजक केपी पाठकले बताए ।
एक हप्तासम्म चल्ने कार्यशालामा सहभागिता जनाउने सबैले एउटा कथा लेख्नु पर्ने प्रावधान आयोजकले राखेको छ । सो कथामा कार्यशाला समापन भएको दुई हप्ताभित्र सबैले पूर्ण स्क्रिप्ट बुझाउनुपर्नेछ र सो स्क्रिप्ट मध्येबाट उत्कृष्ट हुने एउटा स्क्रिप्टमा लघु चलचित्र निर्माणको लागि यस प्रतिष्ठानले एक लाख नगद समेत प्रदान गर्नेछ । यसरी निर्माण भएको चलचित्रलाई नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को तेश्रो संस्करणमा सहभागी गराइनेछ ।