भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो नाम सन्नी’ बोलको गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको गीतको शब्द विक्रम जोशीले लेखेका हुन् ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतको कोरियोग्राफी विष्णु देभाले गरेका हुन्, जो बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् । उनले सलमान खान, शाहरुख खानलाई नचाइसकेका छन् । गीतको मिडियोमा मेकिङ गजबकै देखिन्छ ।

गीतमा सन्नीसँग चलचित्रका लिड अभिनेता बिक्रम जोशी (विक्की) ले पनि नृत्य गरेका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप नै सन्नीलाई गीतमा नृत्य गराइएको निर्देशक सम्राट बस्नेतले बताए । उनले यो चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
फिल्म एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् । चलचित्रमा सौरभ लामाको छायांकन छ । रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको पनि चलचित्रमा अभिनय छ ।
गीत हेर्नुहोस् :-




