चैत २८ गतेबाट प्रदर्शनमा आउने कन्फर्म भइसकेको वर्षको बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को दशैंपछि छायांकन सुरु हुँदैछ । छेतेन गुरुङ्ग र सन्तोष सेनले मिलेर निर्देशन गर्ने फिल्ममा अभिनेता प्रदीप खड्काले ‘प्रेम’ को भूमिका निभाउँदैछन् । ‘गीत’ अर्थात् लिड अभिनेत्रीका लागि अहिले अडिसन चलिरहेको छ । केही दिनमा ‘गीत’ क्यारेक्टरका लागि एक युवती छनोट गरिने निर्माता सेन बताउँछन् ।

यसबीच, निर्माण कम्पनी आशुसेन फिल्मस्ले चलचित्रमा प्रमुख भूमिकाका लागि एक पुरुष कलाकार छनोट गरेको छ । यस चलचित्रबाट नेपाली फिल्ममा संघर्ष गरिरहेका मनिष राउतले डेब्यू गर्ने भएका छन् । चलचित्रमा प्रदीप र मनिष दाजु-भाईको भूमिकामा हुनेछन् । अस्कर कलेजमा अभिनय सिकेका मनिषसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभव छ । नेपाली चलचित्रमा भने उनले पहिलो पटक काम गर्न लागेका हुन् ।
चकलेटी लुक्सका धनी उनको निर्माण टिमले क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । एक पोस्टरमा उनी पुरानो जमानाको बन्दुकसहित देखिएका छन् । भने, अर्कोमा बन्चरोसहित देखिएका छन् । उनको कपाल निकै लामो देख्न सकिन्छ । कथाको माग अनुसार नै मनिषलाई चलचित्रमा प्रमुख भूमिकामा अनुबन्ध गरेको सेनले बताए । ‘प्रेमगीत ३’ लाई ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको छ । २ सय वर्ष पुरानो प्रेमकथामा चलचित्र बन्न लागेको हो ।

छेतेन गुरुङ्ग र मन्दिप गौतमले चलचित्रको कथा तयार पारेका छन् । ‘प्रेमगीत’ को दुई सिरिजमा एकल निर्माताको रुपमा रहेका सन्तोषलाई यस चलचित्रमा विजय चामलिङले लगानीमा सघाउनेछन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । चलचित्रको स्क्रिप्ट लक भइसकेको छ ।




