नम्रताको जन्मदिनमा ‘जाइरा’ पोस्टर सार्वजनिक



अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो ३३ औं जन्मदिन भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जाइरा’ को टिमसँग मनाएकी छन् । शुक्रबार राजधानीमा एक कायृक्रमका बीच उनले चलचित्रको जम्बो टिमको उपस्थितिमा जन्मदिनको केक काटिन् । यो चलचित्रमा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि सहकार्य गरेको छ ।

नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्यतः उनी फोकस्ड छिन् । चलचित्रको मुल कथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले चलचित्रको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँँदै आएको छ । सार्वजनिक पोस्टरमा नम्रतालाई मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।

‘लभर गर्ल’ को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन् । जन्मदिनको केक काट्दै उनले भनिन्, ‘यो चलचित्रको स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ । स्क्रिप्टमा मात्र उसले तीन वर्ष खर्चेको छ । उसको मिहिनेत, लगाव र उसप्रति मलाई विश्वास भएर नै ‘जाइरा’ गरेकी हुँ ।’ उनले आफूलाई हरेक चलचित्रमा निभाएको क्यारेक्टर चुनौतीपूर्ण लाग्ने पनि बताइन् ।

आफू हरेक क्यारेक्टरलाई उत्तिकै महत्त्व दिने उनको भनाई छ । उनी भन्छिन्, ‘मैले मेरो क्यारेक्टरलाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई सजिलै थाहा हुन्छ । दर्शकलाई झुक्याउन सकिन्न । त्यसैले म हरेक क्यारेक्टरलाई शतप्रतिशत दिने प्रयास गर्छु । मलाई हरेक क्यारेक्टर चुनौतीपूर्ण र हरेक फिल्म ड्रिम प्रोजेक्ट लाग्छ ।’ उनले ‘जाइरा’ बाट आफूले लभर गर्लको छवि मेट्ने प्रयास गरेको पनि बताइन् ।


एकसेएक सम्झनलायक चलचित्र दिएकी नम्रता अभिनीत पछिल्लो चलचित्र ‘प्रसाद’ गत वर्ष प्रदर्शनमा आएको थियो । यस चलचित्रमा नम्रताको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको थियो । हरेक फिल्ममा अभिनयमा विविधता पस्किरहेकी नम्रता पहिलो पटक ‘जाइरा’ मा एक्सन अवतारमा प्रस्तुत हुन लागेकी हुन् । चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu