चलचित्र ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट फिल्म देशैभर प्रदर्शनमा आउँदैछ । यो चलचित्र लामो समय सेन्सरमा अड्किएको थियो । सेन्सर बोर्डले ‘क्लिन चिट’ दिएपछि ‘कीर्तिपुर’ प्रदर्शनमा आउन लागेको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित छ ।
चलचित्रको ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले सोमवार राजधानीका एक कार्यक्रमका बीच नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको छ । निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए । भिएफएक्सका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको उनको भनाई छ । उनी चलचित्र उत्कृष्ट बनेको दावी गर्छन् ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् । यसमा यशराजले पृथ्वीनारायण शाह र कीर्तिलक्ष्मीको भूमिका हिसिलाले निभाएका छन् ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता यशराजले ऐतिहासिक विषयमा बनेको चलचित्रको हिस्सा हुन पाउँदा गौरवान्वित महशुस भएको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाहा गर्न निकै कठिन भएको उनको अनुभव छ । उनी भन्छन्, ‘एक वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट राम्रो गर्ने कोशिश भने जरुर गरेको छु ।’ उनी चलचित्रलाई लिएर निकै उत्साहित देखिए ।
फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । अनन्तलाई चलचित्र निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशीले चलचित्र खिचेका हुन् । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।
ट्रेलर हेर्नुहोस् :-