गएको जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनको ५१ दिने रफ्तारमा छ । चलचित्रले चौथो हप्तासम्म घरेलु बजारमा ८ करोडको व्यापार गरेको रिपोर्ट प्राप्त छ । प्रदीप भट्टराई निर्देशित यस चलचित्रले बक्सअफिसमा प्रदर्शनको दुई हप्ता गजबकै व्यापार गरेको थियो । तेस्रो हप्ताबाट चलचित्रको व्यापारमा केही गिरावट आए पनि कमजोर भने छैन ।
कुनै आशा गरिएका नेपाली चलचित्र रिलिज नहुनु र आशा गरिएका विदेशी चलचित्रले पनि दर्शक रिझाउन असफल हुँदा यो चलचित्रलाई गजबकै फाइदा भएको छ । चलचित्रलाई राजधानीका मल्टीप्लेक्सहरुले पाँचौ हप्तामा पनि राम्रो सोज उपलब्ध गराएका छन् । दुई दर्जन बढी सिंगल थिएटरमा चलचित्रको दबदबा अझै कायम छ । ‘वर्ड अफ माउथ’ बलियो हुँदा दर्शकको उपस्थिति मल्टीप्लेक्स र सिंगल दुबैतिर राम्रो छ ।
अहिले निर्माण टिम जसरी हुन्छ हलमा चलचित्र ५१ दिन टिकाउने कसरतमा लागेको छ । मंगलबार साँझ राजधानीको बिग मुभिजमा सेलिब्रेटीहरुलाई बोलाएर निर्माताले चलचित्र देखाए । यसको उद्येश्य दर्शकलाई हलमा चलचित्र चलिरहेको जानकारी दिन थियो । चलचित्र सुरु हुनुभन्दा अगाडि निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले कलाकारलाई आग्रह गरे, ‘चलचित्र हेरेपछि तपाईंहरुले सामाजिक सञ्जालमा केही लेखिदिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
चलचित्र हेर्न रेखा थापा, नम्रता श्रेष्ठ, सन्दिप क्षेत्री, सुनिल थापा, पल शाह, वर्षा सिवाकोटी, शिव परियारलगायतका कलाकारहरु पुगेका थिए । ‘जात्रै जात्रा’ हेरेपछि सबैले कलाकारको अभिनय, पटकथा, प्रस्तुती र निर्देशक भट्टराईको निर्देशकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । पल र वर्षाले फिल्मको केही सिनमा भावुक भएको बताए । रेखाले फेसबुकमा ढिलो हेरे पनि राम्रो चलचित्र हेरेको भन्दै निर्देशक प्रदीपको तारिफ गरेकी छन् ।
चलचित्रको स्पेशल शोमा विपिन कार्की, वर्षा राउत, निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, कलाकार रविन्द्र झा, हास्य कलाकार राजाराम पौडेल, बाल कलाकार अरविन खड्का पनि उपस्थित भएका थिए । निर्देशक भट्टराईले चलचित्रले प्रदर्शनको ३३ औं दिन पार गर्दा पनि दर्शकको साथबाट एकदमैै खुसी भएको बताए । उनी चलचित्रले ५१ दिन मनाउनेमा विश्वस्त छन् ।