अभिनेता दयाहाङ राईले पिताको भूमिका निर्वाहा गरेको चलचित्र ‘आप्पा’ यही असार १३ गतेबाट प्रदर्शनमा आउँदैछ । यसलाई नव निर्देशक अनमोल गुरुङले निर्देशन गरेका हुन् । रोचक कुरा चाहिँ के छ भने दयाहाङले यो चलचित्र गर्ने मनस्थिति इमेलमा आएको अडियो सुनेर बनाएका थिए । निर्देशक गुरुङले एक स्टुडियोमा गएर चलचित्रको स्क्रिप्ट रेकर्ड गराएका थिए । ब्याकग्राउन्डमा म्यूजिकसहित ।
निर्देशक गुरुङले एक भेटमा भने, ‘दया दाईसँग दर्जनौं स्क्रिप्ट घरमा धुलो लागेर बसेको छ भन्ने मलाई थाहा थियो । त्यसैले मैले स्टुडियोमा गएर फिल्मको स्क्रिप्ट आफैंले पढेर अडियो तयार पारेँ र इमेल गरेँ । दाई (दयाहाङ राई) ले अडियो सुनेपछि चलचित्र गर्ने जानकारी दिनुभयो र स्क्रिप्ट पनि पढ्न चाहेको बताउनुभयो ।’
आप्पाको भूमिकामा सुहाउने भएकै कारण दयाहाङलाई चलचित्र अफर गरेको उनको भनाई छ । तर, उनलाई धेरैले आप्पाको भूमिकामा अलि पाका कलाकार लिन सुझाएका छन् । उमेरका कारण दयाहाङ आप्पा (पिता) को भूमिकामा नसुहाउने सुझाव उनलाई धेरैबाट मिलेको थियो । तर, पिता बन्न निश्चित उमेर नहुने उनको धारणा छ ।

उनी भन्छन्, ‘अहिले २०-२२ वर्षको उमेरमा नै पिता बनेका हुन्छन् । दयाहाङ दाई वास्तविक जीवनमा एक छोराको पिता हुनुहुन्छ । फिल्ममा पनि पिताको भूमिका निभाउनका लागि उहाँको उमेर परफेक्ट हो ।’ मार्केट भ्यालु ‘क्यास’ गर्नका लागि जबरजस्ती रुपमा दयाहाङलाई आप्पाको भूमिकामा अनुबन्ध नगरेको पनि उनले प्रस्टाए ।
असार १३ मा रिलिज हुने यस चलचित्रमा तीन फरक पुस्ताको प्रतिनिधित्व गर्ने कलाकारहरुको अभिनय छ । दयाहाङसँगै पुराना कलाकार तथा निर्देशक तुलसी घिमिरेको पनि चलचित्रमा अभिनय छ । नयाँ कलाकारको रुपमा सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चाले अभिनय गरेका छन् । चलचित्र हेर्न तीन पुस्ताका दर्शक हलसम्म आउनेमा निर्देशक गुरुङ विश्वस्त छन् ।
माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएकोचलचित्रका कार्यकारी निर्माता माबो हाङ हुन् । ‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा छ भने उनलाई पटकथा तया संवाद लेखनमा उमेश उपमाले सघाएका छन् । शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा छ ।




