विराज-निकिताको ‘साङ्लो’ ले गाउँपालिकाबाट पायो १० लाख



अभिनेता विराज भट्ट चलचित्र ‘साङ्लो’ बाट निर्देशनमा डेब्यू गर्दैछन् । उनकै लगानीमा यो चलचित्र बन्न लागेको हो । यसमा उनकै प्रमुख भूमिका छ । पूर्व मिस नेपाल निकिता चाण्डक उनको अपोजिटमा छिन् । छायांकनको अन्तिम चरणमा रहेको उक्त चलचित्र निर्माणका लागि डोटीको जोरायल गाउँपालिकाले १० लाख दिने भएको छ । जेठ २७ गते बसेको कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो ।

चलचित्रलाई गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख दिने भएपछि सो निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा ‘पर्यटन प्रवर्द्धन’ को शिर्षकमा उक्त रकम चलचित्रको निर्माण टिमलाई दिन लागेको बताएका छन् । रोचक कुरा त चलचित्रमा उनको पनि अभिनय छ । उनले चलचित्रमा अभिनेत्री निकिताको पिताको भूमिका निभाएका छन् ।


चलचित्र खेल्नकै खातिर अध्यक्ष ओझाले एकलौटी रुपमा फिल्मलाई १० लाख दिन लागेको भन्दै विरोध सुरु भएको छ । तर, ओझा सबैको निर्णयले उक्त रकम दिएको बताउँछन् । चलचित्र ‘साङ्लो’ को केही दिनयता जोरायल गाउँपालिकाको विभिन्न स्थानमा छायांकन भइरहेको छ । यसअघि त्यहाँ कुनै पनि चलचित्रको छायांकन भएको थिएन । गाउँपालिकाले चलचित्र निर्माणका लागि छुट्याएको रकमको स्थानीयहरुले नै विरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष ओझाले चलचित्र खेल्नु अपराध नभएको बताउँदै कथाले मागेका कारण आफूले अभिनय गरेको बताए । उनी १० लाख निर्माताको खल्तीमा सुटुक्क नहालेको पनि बताउँछन् । उनी भन्छन्, ‘चलचित्रको छायांकनका लागि आएको टिम ठूलो छ । खान, बस्न र यातायातको खर्च स्वरुप १० लाख दिने निर्णय गरेका हौं ।’ गाउँपालिकाले दिएको सो रकमको बारेमा अभिनेता विराजले भने कुनै जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu