चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको अवसरमा राष्ट्रपतिको हातबाट राष्ट्रपति भवनमा प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गएको तीन वर्षदेखि हुन सकेको छैन । पछिल्लो पटक राजकुमार राईको कार्यकालमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट २०७३ सालको असारमा‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाँडिएको थियो । यसपछि भएको छैन ।
विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अब तीन वर्षदेखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ लाई निरन्तरता दिने भएका छन् । तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ आउँदो असार २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गर्ने तयारी भइरहेको बोर्ड अध्यक्ष भट्टराईले जानकारी दिए । यसको आधिकारिक जानकारी बोर्डको १९औं वार्षिकोत्सवमा गराइने उनले बताए ।

असार १७ गते बोर्डले आफ्नो १९औं स्थापना दिवस मनाउँदैछ । यस अवसरमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई बोर्डले ‘चलचित्रकर्मी विशेष योगदान सम्मान-२०७६’ बाट सम्मानित गर्दैछ । भने, डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका पुराना चलचित्रहरुका केही दृश्यहरु समेत बोर्डमा प्रदर्शन गरिनेछ ।
यसअघि बोर्डको वार्षिकोत्सवको दिन ‘राष्ट्रिय चलचित्र पुरस्कार’ का विजेताको नाम घोषणा गर्ने गरिएको थियो । र, सोही दिन राष्ट्रपतिको हातबाट अवार्ड प्रदान गरिन्थ्यो । तर, यसपटक वार्षिकोत्सवमा विजेताको नाम घोषणा नगरिने भएको छ । बोर्ड अध्यक्ष भट्टराई भन्छन्, ‘राष्ट्रपति भवनमा नै पुरस्कार विजेताको नाम घोषणा गर्छौं । अहिले अवार्डलाई विशेष बनाउन बोर्डले विशेष तयारी गरिरहेको छ ।’




