‘दाल भात तरकारी’ ले बाँड्यो ५१ दिनमा प्राविधिकलाई बोनस



गएको शनिबार सुदन केसी निर्देशित मल्टीस्टारर चलचित्र ‘दाल भात तरकारी’ ले राजधानीका तीन सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमामा प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा निर्माण टिमले प्राविधिकलाई बोनस र प्रमाण पत्र प्रदान गरेको छ । आइतबार राजधानीमा चलचित्रको ५१ दिने सेलिब्रेशन कार्यक्रम आयोजना गरिएको थियो ।

मिश्रित प्रतिक्रियाका बाबजुद पनि नेपालबाटै लगानी उठाउन सफल चलचित्रको सफलताको पार्टीमा कलाकार, हल सञ्चालक, वितरक र प्रायोजकहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । वितरक कम्पनी एफडी कम्पनी र वि.के फिल्मस्ले संयुक्त रुपमा निर्देशक सुदन केसीलाई सम्मान पत्र हस्तान्तरण गरे । भने, गोपीकृष्ण मुभिजले चलचित्रको टिमलाई सम्मान पत्र प्रदान गर्‍यो ।

चलचित्रको ५१ दिने सफलताको कार्यक्रममा सबैभन्दा महँगो उपहार अभिनेत्री आँचल शर्माले पाइन् । उनलाई निर्माण टिमले आइफोनको लेटेस्ट भर्सन दिएको थियो । निर्माता किरण केसीले आँचलले चलचित्रले ५१ दिन मनाएको खण्डमा आफूलाई आइफोन दिनुपर्ने भनेकाले प्रदान गरेको बताए । ‘दाल भात तरकारी’ ले नेपालमा ६ करोडको व्यापार गरेको रिपोर्ट प्राप्त छ । मह सञ्चारको ब्यानरमा यो चलचित्र बनेको हो ।


चलचित्रमा हरिबंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, शिशिर बाङ्देल, मोहितबंश आचार्यलगायतका कलाकारहरुको अभिनय छ । अमेरिका मोहले ग्रसित एक परिवारको कथामा चलचित्र आधारित छ । चलचित्रको ५१ दिने सेलिब्रेसन कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, रमेश उप्रेती, निर्मल शर्मा, प्रदीप भट्टराईलगायतका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्माता किरण केसीले चलचित्रलाई मिलेको राम्रो/नराम्रो दुबैखाले प्रतिक्रियालाई आत्मसात् गरेको बताए । उनले भने- ‘हामीले रंगमञ्चलाई फिल्मी शैलीमा ढाल्ने एउटा प्रयास गरेका थियौं । त्यसमा हामी केही प्रतिशत चुक्यौं । राम्रो/नराम्रो दुबैखाले प्रतिक्रिया दिनुहुने दर्शकप्रति म नमन गर्न चाहन्छु । अर्को पटक अझ मेहनत गर्नेछौं ।’ चाँडै मह सञ्चारले नयाँ चलचित्रको घोषणा गर्ने पनि उनले बताए ।


कलाकार हरिबंश आचार्य भने ‘दाल भात तरकारी’ लाई लिएर भएको आलोचनाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँछन् । चलचित्रको पटकथा र संवाद समेत आफैंले लेखेका उनी भन्छन्, ‘यसपटक ५१ प्रतिशत आलोचना र ४९ प्रतिशत खुसी मिलेको छ । यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु । चलचित्र बनाउनु भनेको जाँच दिनु सरह हो । कहिले पास भइन्छ त कहिले फेल । अर्को पटक अझ मेहनत र सच्चिएर काम गर्ने वाचा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu