निर्देशकदेखि अभिनेता-अभिनेत्रीलाई ‘विशिष्ट योगदान सम्मान’



चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा १४ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’, चार चलचित्र भवनलाई ‘विशिष्ट योगदान सम्मान’, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई सम्मान गर्ने भएको छ । यही असार १६ गते बोर्डले वार्षिकोत्सव मनाउँदैछ ।

नेपाली चलचित्र क्षेत्रमा २० देखि ५० को दशकसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका अग्रणी चलचित्रकर्मीहरुलाई ‘विशिष्ट योगदान सम्मान’ बाट सम्मानित गर्न लागिएको बोर्डले जनाएको छ । नेपाली चलचित्रको सुरुवातदेखि अहिलेसम्म पनि निरन्तर योगदान पुर्‍याएको ठहरसहित निर्देशकहरुबाट बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेतातर्फ शिव श्रेष्ठ र भुवन के.सी. र अभिनेत्रीतर्फ भुवन चन्द ‘विशिष्ट योगदान सम्मान’ बाट सम्मानित हुने भएका छन् ।


बरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, बरिष्ठ ध्वानी विज्ञ प्रदीपकुमार उपाध्याय, बरिष्ठ चलचित्र निर्माता छविराज ओझालाई पनि ‘विशिष्ट योगदान सम्मान’ बाट सम्मानित गर्न लागिएको बोर्डका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए ।

यस्तै, निर्मलराज पौडेल, जापानी नागरिक डा. तोसिआकी इतोह, बरिष्ठ डिजाईनर सुन्दर श्रेष्ठ र बरिष्ठ चलचित्र पत्रकार बिजयरत्न तुलाधार पनि यो सम्मानबाट सम्मानित हुँदैछन् । चलचित्र भवनतर्फ क्युएफएक्स सिनेमा, काठमाडौंको विश्वज्योति, विर्तामोडको श्रीकृष्ण र पोखराको विन्ध्यवासिनीलाई पनि ‘विशिष्ट योगदान सम्मान’ बाट सम्मानित गरिने चिरञ्जीवीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

वार्षिक रुपमा बोर्डले प्रदान गर्दै आएको विशेष चलचित्रका लागि छनोट भएका तीनवटा चलचित्रलाई ‘विशेष चलचित्र–२०७५’ बाट सम्मान एवं पुरस्कृत गरिने बोर्डले जनाएको छ । यस्तै, चलचित्र विकास बोर्डको स्वीकृत वार्षिक कार्यक्रम सफलरुपमा कार्यान्वयन गर्न विशेष योगदान पुर्‍याउने कर्मचारीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

पहिलो नेपाली कथानक चलचित्र ‘आमा’ देखि इतिहासका विभिन्न कालखण्डमा निर्माण भई नष्ट हुने अवस्थामा रहेका दशवटा नेपाली चलचित्रहरु तथा ऐतिहासिक महत्वका वृत्तचित्रहरुलाई डिजिटाइजेशन तथा रेस्टोरेशन गर्ने प्राविधिक समितिका सदस्यहरुलाई समेत सम्मान गर्ने बोर्डले निर्णय गरेको छ । वार्षिकोत्सवमा बोर्डले तीन वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कारको पनि घोषणा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu