शुक्रबारबाट मुलुकभर प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई अभिनीत चलचित्रले राम्रो सुरुवात गरेको छ । एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आप्पा’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार औसत व्यापार गरे पनि शनिबार बिहानैदेखि देशैभर हाउसफुल व्यापार गरेको निर्माण टिमबाट जानकारी प्राप्त छ । यो चलचित्रले शनिबार मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतिर राम्रो व्यापार गरेको वितरकले बताएका छन् ।
चलचित्रको व्यापार सिंगलमा भन्दा मल्टीप्लेक्सतर्फ राम्रो छ । शनिबार राजधानीका मल्टीप्लेक्सले चलचित्रलाई उपलब्ध गराएका सबै सोज दर्शकले भरिएको निर्देशक अनमोल गुरुङ बताउँछन् । मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने गोपी, गुण, अष्टनारायणलगायतका राजधानीका सिंगल थिएटरमा पनि दर्शकको उपस्थिति राम्रो देखिएको थियो । चलचित्रलाई बढिजसो मिश्रित प्रतिक्रिया प्राप्त छ ।

मोफसलतर्फ नेपाली चलचित्रको ठूलो बजार मानिने पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरीलगायतका प्रमुख स्टेशनमा पनि शनिबार चलचित्र हाउसफुल रहेको रिपोर्ट प्राप्त छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण आइतबारबाट चलचित्र हेर्ने दर्शकको चाप बढ्नेमा निर्देशक गुरुङ विश्वस्त छन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो । उनको निर्देशकिय क्षमताको सबैले प्रशंसा गरेका छन् । बाबु–छोराको प्रेमलाई उनले इमानदार ढंगले पस्किएका छन् ।
चलचित्रमा अभिनेता दयाहाङ राईले उत्कृष्ट अभिनय गरेका छन् । उनी चलचित्रका मेरुदण्ड हुन् । आप्पा अर्थात् पिताको भूमिकालाई उनले न्यायपूर्वक निर्वाहा गरेका छन् । सिद्धान्त राज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीले पनि राम्रो काम गरेका छन् । आइतबारको व्यापारले यो चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्ने वा नबन्ने भन्ने तय गर्नेछ । ‘आप्पा’ भारतका २५ हलमा पनि प्रदर्शनरत छ ।
शनिबार दिउँसो चलचित्रका अभिनेता सिद्धान्त र अभिनेत्री अल्लोनाले राजधानीका केही हल पुगेर दर्शक प्रतिक्रिया बुझे । दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिँदा उनीहरु निकै खुसी देखिए । दुबैको यो डेब्यू चलचित्र हो । सिद्धान्तले दर्शकले चलचित्र रुचाएकोमा खुसी व्यक्त गरे । अल्लोना चलचित्र हेर्ने सबैबाट राम्रो प्रतिक्रिया मिलेको बताउँछिन् । उनी दर्शकले आफ्नो अभिनय रुचाएकोमा निकै खुसी छिन् । सिद्धान्त र अल्लोना दुबैले अब अभिनयलाई निरन्तरता दिने प्रण गरेका छन् ।




