कात्तिक २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनभन्दा चार महिना अगाडि निर्माण टिमले दर्शकको प्रतिक्रिया बुझ्न ट्रेलर युट्युबमा सार्वजनिक गरेको हो । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार विकास थापा मगरको जन्मदिन सेलिब्रेसन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गर्यो ।
चलचित्र ‘सत्या’ ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई देखाइएको छ । मिलन आले मगर निर्देशित चलचित्रमा विकासका अलावा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्षा थिङ्ग, सुमन खत्री, विकास थापा, गौरव सम्राटलगायतको अभिनय छ । निर्देशक मगरले चलचित्र सत्य घटनामा आधारित भएर बनेको बताए ।

यो चलचित्रमा विकास चौधरीको संगीत, सुमन कुमार तण्डुकारको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, श्रवण सम्राटको कथा र देव महर्जनको द्वन्द्व छ । फिल्मको गीतमा रामजी लामिछाने, सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी छ । झम्कीदेवी कालाखेती, सुमन खत्री र करण सिंह बोहोरा निर्माता रहेको चलचित्रमा मदन थिङ्ग कार्यकारी निर्मातामा छन् ।
नव-अभिनेता राज र नव-अभिनेत्री प्रिया शर्माले ‘सत्या’ उत्कृष्ट बनेको दाबी गरे । प्रिया युवापुस्तालाई चलचित्र नछुुटाउन आग्रह गर्छिन् । ‘चलचित्रको कथावस्तु निकै सशक्त छ । दर्शकले चलचित्र हेरेपछि निराश हुनु पर्दैन । मैले पनि राम्रो अभिनय गर्ने प्रयास गरेको छु’, उनले भनिन् । उनी आफूलाई दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा विश्वस्त छिन् ।
भिडियो :-




