कस्तो होला ‘घर’ ?



नेपालमा हरर जनराका चलचित्र निकै कम बन्ने गरेका छन् । बनेका हरर चलचित्रले पनि दर्शकलाई ‘तर्साउने कम हँसाउने बढी’ गरेका छन् । यसको गतिलो र तात्तातो उदाहरण गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘सुनकेसरी’ लाई लिन सकिन्छ । यो चलचित्र हेरेपछि दर्शक डराएनन् । ‘कमेडी चलचित्र पो रहेछ’ भन्दै निस्किए । दर्शकको मनमा निरन्तर डर पैदा गर्नु ‘हरर’ चलचित्रको खास विशेषता मानिन्छ । तर, यहाँ सेतो साडी लगाएपछि दर्शक तर्सिन्छन् भन्ने सोचाईबाट फिल्ममेकर्स ग्रस्त छन् ।

आवश्यक प्रविधि र निकै कम बजेटमा निर्माण गर्नुपर्ने बाध्यता भएका कारण पनि नेपालमा स्तरिय हरर चलचित्र बन्न नसकेको कतिपयको बुझाई छ । यद्यपि, वर्षमा फाट्ट-फुट्ट हरर चलचित्र पर्दामा लागिरहेका छन् । ‘सुनकेसरी’ बाट दर्शकलाई तर्साएका कम ज्यादा हँसाएका निर्देशक अर्पण थापाले दोस्रो पटक हरर जनराकै चलचित्र ‘घर’ लिएर आएका छन्, जुन आउँदो साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।


यस चलचित्रको निर्देशकसँगै लेखक र कलाकार समेत रहेका अर्पणलाई ‘सुनकेसरी’ ले भड्किएका दर्शकलाई ‘घर’ बाट रिझाउनु पर्ने निकै ठूलो चुनौती छ । यसमा कति सफल हुनेछन् ? प्रतिक्षा गर्नैपर्ने हुन्छ । एक घरभित्र हुने भुत-प्रेतको कथा चलचित्रमा देखाइएको छ । सुरक्षा पन्त र बेनिशा हमालको पनि यसमा प्रमुख भूमिका छ । चलचित्रको ट्रेलरले धेरैको ध्यान खिचेको छ । स्तरिय नेपाली हरर चलचित्रको प्रतिक्षामा रहेका दर्शकलाई ‘घर’ उपयुक्त खुराक हुनसक्ने विश्वास गरिएको छ ।

चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । भर्खर किनेको नयाँ घरमा सरेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको चलचित्रमा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले चलचित्रको सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu