अहिले दीपकराज गिरी र दीपाश्री निरौला समुहको चलचित्र ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त अभिनेत्री केकी अधिकारीले ‘कोहलपुर एक्सप्रेस’ को टिमसँग मिलेर टेलिभिजनका लागि एक कमेडी रियालिटी शो निर्माण गर्दैछिन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘कमेडी च्याम्पियन’ रियालिटी शोमा उनी निर्मात्रीको रुपमा छिन् । यो शोलाई चोरीको बात नलागोस् भन्नेमा आफू र आफ्नो टिम निकै सचेत रहेको उनी बताउँछिन् ।
बिहीबार यस शोको घोषणा कार्यक्रममा बोल्दै उनले भनिन्, ‘नेपालमा पहिलो पटक कमेडी रियालिटी शो आयोजना हुन लागेको हो । यसलाई स्तरिय बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं । र, यो शो कुनै विदेशी शोबाट प्रभावित भएर बनाउन लागेका होइनौं । चोरीको आरोप लाग्न नदिन हाम्रो टिमले निकै मेहनत गरेको छ ।’ चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि उनी ‘चोरी’ शब्दबाट निकै तर्सिएको देखिन्छ । किनकि, उनी निर्मित यो चलचित्रलाई चोरीको बात लागेको थियो ।
‘चोरी’ शब्ददेखि निकै डराउनुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हो, मलाई ‘चोरी’ भन्ने शब्दबाट निकै डर लाग्न थालेको छ । हुन त कोही पनि चाहँदैन जिन्दगीमा चोरीको दाग लागोस् । मैले पनि जानेर वा नजानेर गल्ती गरेँ । अब त्यो दाग मेटाउन चाहन्छु । सबैका लागि उदाहरणीय काम गर्न चाहन्छु ।’ उनले चोरीको दाग मेटाउनका लागि पनि आफ्नो टिमले ‘कमेडी च्याम्पियन’ रियालिटी शो लिएर आएको बताइन् ।
‘कमेडी च्याम्पियन’ को निर्णायकमा बरिष्ठ कलाकार सन्तोष पन्त, हास्यकलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा रहेका छन् । कार्यक्रमको सञ्चालन अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन् । यो शोको अडिसनमा सहभागी हुनका लागि तीन मिनेट (स्वदेशी) र पाँच मिनेट (विदेशी) को कमेडी भिडियो मोवाइल एप्समार्फत् पठाउनु पर्नेछ । डिजिटल र फिजिकल गरि दुई फर्म्याटमा अडिसन हुने कार्यक्रममा जानकारी गराइयो ।
निर्णायक मध्येका एक मनोज गुजुरेलले सनातन हास्यव्यंग्य संस्कृतिभन्दा भिन्न प्रतिभाशाली र अहिलेको डिजिटल पुस्तालाई सम्बोधन गर्ने खालको कमेडियन यस शोले उत्पादन गर्ने विश्वास व्यक्त गरे । पहिलो पटक सानो पर्दामा देखिन लागेका निर्देशक भट्टराईले ‘कमेडी च्याम्पियन’ लाई विवादरहित बनाउन प्रयास गर्ने बताए । अभिनेत्री ऋचाले यो शो ६० प्रतिशत स्क्रिप्टिडेड हुने बताइन् । उक्त शोका निर्माता तथा निर्देशक विशाल भण्डारी हुन् ।