‘सानो मन’ को कन्सर्टमा दर्शकसँग नाचे आयुष्मान र शिल्पा (फोटोसहित)



काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनीत चलचित्र ‘सानो मन’ यही असार २७ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतसंगीत र ट्रेलरले यो चलचित्रको राम्रो हाइप निर्माण गरेको छ । म्यूजिकल लभस्टोरी बताइएको यस चलचित्रको निर्माण टीमले दर्शकमाझ जानकारी पुर्‍याउन हरेक किसिमको प्रचार शैली अपनाइरहेको छ । यसबीच, शुक्रबार दिउँसो निर्माण टीमले राजधानीको सिभिल मलमा प्रमोसनल कन्सर्टको आयोजना गरेको छ ।

कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरु आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, निर्देशक सुयोग गुरुङलगायत उपस्थिति भएका थिए । भने, फिल्मकोे शिर्ष गीतमा आवाज भरेका गायक रोहित जोन क्षेत्रीको पनि उपस्थिति रहेको थियो । फिल्मको जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आयुष्मानलाई भेट्न चाहने युवती फ्यानहरु धेरै देखिएका थिए ।

उनले पनि आफ्ना क्रेजी फ्यानसँँग सेल्फी खिच्दै चलचित्रको गीत ‘रानु कम्मर’ मा नृत्य गरे । आयुष्मानलाई शिल्पा र सक्षमले पनि साथ दिए । फिल्मको बारेमा सोधिएको केही प्रश्नको सही उत्तर दिनेलाई कलाकारहरुले ‘सानो मन’ को टिकट समेत प्रदान गरेका थिए । मलमा विभिन्न उद्देश्यले पुगेका दर्शकहरु आयुष्मान र शिल्पालाई आफ्नो मोवाइलमा कैद गर्न व्यस्त देखिन्थे । दुईसँग सेल्फी खिच्नेहरुको भीड पनि ठूलै लागेको थियो ।


उक्त कार्यक्रममा रमाइलो त तब भयो जब आयुष्मानले शिल्पा र सक्षमलाई दर्शकमाझ चिनाउँदै फिल्ममा निभाएको भूमिकाबारे जानकारी गराए । उनले आफूलाई भने भिन्न ढंगले चिनाए । उनलाई नरुचाउने दर्शकले ‘चुसेको आँप’ भन्ने गर्दछन् । उनले आफूमाथि मजाक गर्नेलाई गतिलो झटारो दिँदै ‘म चाहिँ ‘चुसेको आँप’ भन्दै परिचय गराए । उनको यो कुराले दर्शकमा हाँसोको फोहोरा छुटेको थियो ।


चलचित्रको नाम ‘सानो मन’ भए पनि ठूलो मन भएका व्यक्तिहरुले बनाएको आयुष्मानको भनाई छ । उनी चलचित्रले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् । अभिनेत्री शिल्पाले चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरिन् । चलचित्रमा नेगेटिभ रोलमा रहेका सक्षमले आफ्नो डेब्यू फिल्म भए पनि राम्रो गर्ने कोशिश गरेको बताए । कार्यक्रममा गायक रोहितले फिल्मको शिर्ष गीत गाएर सुनाएका थिए ।

निर्देशक गुरुङले ‘सानो मन’ को विषयमा अनविज्ञ दर्शकलाई जानकारी दिने उद्देश्यले प्रोमोसनल कन्सर्टको आयोजना गरेको बताए । राजधानीका केएल टावर, विजी मल, लबिम मल, सिटी सेन्टरमा पनि चलचित्रको जानकारी गराउन सांगीतिक कन्सर्ट गरिने उनको भनाई छ । यो चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।


ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर चलचित्रको सम्पादन गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन् । यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu