‘जात्रै जात्रा’ ले पूरा गर्‍यो ५१ दिने यात्रा



यस वर्षको बैशाखमा प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’ ले तीन सिंगल थिएटरमा ५१औं दिन मनाएको दुई हप्तापछि गएको जेठ ३ गतेबाट हलमा प्रदर्शन आरम्भ गरेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले पनि शनिबार आज ५१ दिने यात्रा पूरा गरेको छ । दश किलो सुनको कथामा आधारित यो चलचित्रले राजधानीमा ७ वटा हल (सिंगल र मल्टीप्लेक्स) मा प्रदर्शनको ५१ दिन मनाएको हो ।

चलचित्रका निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा चलचित्रले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको हो । मोफसलतर्फ भने चलचित्रले कुनै हलमा ५१ दिन मनाउन सकेन । शनिबार निर्माण टिमले राजधानीका विभिन्न हल पुगेर दर्शकलाई धन्यवाद दिँदैछ । भने, साँझ एक भब्य कार्यक्रमका बीच चलचित्रको सफलताको खुसी साटासाट गर्दैछ ।

‘जात्रै जात्रा’ यस वर्षको सबैभन्दा धेरै मुनाफा कमाउने चलचित्रको सूचीमा सुचिकृत भएको छ । चलचित्रले प्रदर्शनको ५१ दिनसम्ममा घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । यद्यपि, यसबारेमा निर्माण टिमले कुनै जानकारी दिएको छ । चलचित्रको सफलताबाट निर्देशक, निर्मातादेखि कलाकार सबै खुसी छन् । यो चलचित्रको पहिलो पार्टले पनि हलमा ५१ दिने यात्रा पार गरेको थियो ।


समीक्षात्मक र व्यावसायिक दुबै सफलता चुमेको यस चलचित्रबाट निर्देशक भट्टराईले ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित चलचित्र ‘जात्रा’ र ‘शत्रु गते’ ले पनि बक्सअफिसमा बम्पर व्यापारसँगै हलमा ५१ दिन मनाएका थिए । नेपालमा निकै कम निर्देशक छन्, जसको तीन चलचित्रले लगातार ब्लकबस्टर व्यापारसँगै हलमा ५१ दिन मनाएका हुन् । निर्देशक भट्टराई ‘जात्रै जात्रा’ सफल बनाउन सहयोग गर्ने दर्शकलाई धन्यवाद व्यक्त गरेका छन् ।

‘जात्रै जात्रा’ मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र स्टारकास्टका कारण चलचित्रको इनिसियल बक्सअफिस आक्रामक रहेको थियो । कुनै नेपाली ठूला फिल्म रिलिज नहुनु र आशा गरिएका विदेशी फिल्मले पनि राम्रो व्यापार नगर्दा यो चलचित्रलाई गजबकै फाइदा भयो । चलचित्रले प्रदर्शंनको तीन हप्तासम्म बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu