बलिउड चलचित्रका स्क्रिप्ट राइटर रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपाल आएर पटकथा लेखन सम्बन्धि प्रशिक्षण दिने भएका छन् । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालामा सहभागी हुन रोबिन र जेफ नेपाल आउने पक्का भएका हुन् ।
एकेडेमीका अध्यक्ष केपी पाठकले भदौमा हुने कार्यशालाका लागि दुबै जना नेपाल आउन तयार रहेको जानकारी दिए । ७२ वटा बलिउड फिल्म लेखेका रोबिन भट्ट निर्देशक तथा निर्माता महेश भट्टका नातेदार हुन् । उनले महेशका धेरैजसो चलचित्रसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदी चलचित्र लेखेका छन् ।
जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन् । रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन् । ‘नेपाल आउने रहर पहिलादेखि नै थियो । मेरो लेखन यात्रा नेपालका लेखकसँग बाँड्नलाई म साँच्चिकै उत्सुक छु,’ उनले भनेका छन् । जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तकनिकी र व्याकरण सिकाउने छन् ।
एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई मध्यनजर गर्दै लेखन कार्यशाला गर्न लागेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा छ,’ पाठकले भने । कार्यशालाको संयोजन लेखक सम्पदा मल्लले गरिरहेकी छिन् ।
उनले उक्त कार्यशाला कम्तीमा एउटा छोटो चलचित्र बनाएका लागि लक्षित गरिएको बताइन् । उनले कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइन् । उनका अनुसार, उत्कृष्ट हुने पटकथाले १ लाख नगद पाउनेछ । कार्यशाला भने भदौको ४ देखि १० गतेसम्म मकवानपुरको कुनै ठाउँमा हुनेछ ।