गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘सानो मन’ ले शुक्रबारबाट प्रदर्शन सुरु गरेको छ । यस चलचित्रमा आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका छ । चलचित्रलाई सुयोग गुरुङ्गले निर्देशन गरेका हुन् । यो चलचित्र उनको डेब्यू हो । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।
बिहीबार साँझ यो चलचित्रको राजधानीको कुमारी हलमा ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियर उपस्थिति अधिकांश फिल्मकर्मीहरुले निर्देशक गुरुङ्गको निर्देशकीय क्षमता, अभिनेता आयुष्मान र अभिनेत्री शिल्पाको अभिनय र छायाँकार आलोक शुक्लाको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए । चलचित्रले आयुष्मान र शिल्पाबीचको प्रेममा आउने उतारचढावमा केन्द्रित छ । यो चलचित्रबाट निर्देशक गुरुङ्गले राम्रो सम्भावना देखाएका छन् ।

आयुष्मान र शिल्पाका अलावा चलचित्रमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।
‘सानो मन’ सँगै सिंगल थिएटरमा अभिनेता सविन श्रेष्ठ स्टारर चलचित्र ‘बदला’ पनि प्रदर्शनमा आएको छ । समिर मियाँले निर्देशन गरेको चलचित्रमा नम्रता योगी, चन्दु चौधरी, मन्जिला चौधरी, राजाराम शाहलगायतको अभिनय छ । चलचित्रमा चन्द्रकान्त चौधरीको निर्माण, निरज कुमारको संगीत, गजेन्द्र गजुको लेखन, रामजी लामिछानेको नृत्य, राजेन्द्र चौधरीको द्वन्द्व छ । चलचित्र लभस्टोरी-एक्सन जनरामा निर्माण भएको छ ।




