रेखाको चलचित्र रेनशाले निर्देशन गर्ने



अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को छैटौं चलचित्रमा निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई राणालाई अनुबन्ध गरेकी छन् । शुक्रबार परेको रेनशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ चलचित्रमा उनलाई निर्देशकको रुपमा भित्राएकी हुन् ।

रेनशाले गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । यो चलचित्रबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । उनको निर्देशकीय क्षमताको निकै तारिफ भएको थियो । अहिले उनी आफ्नै होम प्रोडक्सनको चलचित्र ‘आई एम ट्वान्टिवान’ को तयारीमा छिन् ।


रेखाले चलचित्रको छायांकन दशैंपछि सुरु हुने जानकारी दिएकी छन् । उनका अनुसार, चलचित्र महिलाको मुद्धामा बन्नेछ । यसअघि पनि रेखा फिल्मस्को ब्यानरमा बनेका चलचित्रमा महिलालाई सशक्त रुपमा प्रस्तुत गरिँदै आएको थियो । अभिमन्यू निरवीले तयार पारेको कथामा बन्ने चलचित्र मल्टीस्टारर हुने बताइएको छ । केही हप्तायता चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ ।

निर्देशक रेनशाले जन्मदिनमा विशेष उपहार पाएकोमा खुसी व्यक्त गरेकी छन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । अभिनेत्री रेखाले स्क्रिप्टको काम पूरा भएपछि चलचित्रको नाम जुराइने बताइन् । चलचित्रमा उनको अभिनय रहने छ वा छैन ? त्यो गोप्य राखिएको छ । चलचित्रमा नयाँदेखि पुरानासम्म चलेका कलाकारहरुको अभिनय रहने जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu