बोर्ड भन्छ, ‘नियोजित रुपमै सरोज खनालले शौचालयमा फोटोसेसन गरेका हुन्’



तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होलसेल’ मा प्रदान गरिन् । अवार्ड सकिएलगत्तै राष्ट्रिय चलचित्र पुरस्कार’ नतिजा र व्यवस्थापन दुबै कारणले विवादित र आलोचित बनेको छ । देशको सर्वोच्च अवार्ड निष्पक्ष नभएको कतिपयको ठहर छ । भने, कमजोर व्यवस्थापनका कारण कलाकारहरुले अपमान महसुस गरेका छन् ।

बोर्डले पहिलो पटक राष्ट्रिय अवार्ड कार्यक्रममा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो, जहाँ देशका परिचित कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । नृत्य गर्ने मध्येका एक अभिनेता सरोज खनालले राष्ट्रपति भवनमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा सबेको तश्विर सार्वजनिक गरेसँगै राष्ट्रिय अवार्ड थप विवादमा फसेको छ । उनी ट्वाइलेटको कमोडमा बसेको तश्विर केही दिनयता सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

अभिनेता खनालले राष्ट्रपति भवनमा कलाकारको अपमान भएको भन्दै राष्ट्रिय अवार्डमा आफ्नो पहिलो र अन्तिम प्रस्तुती रहेको सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै गर्दा यस विषयमा चलचित्र विकास बोर्डले आफ्नो धारणा व्यक्त गरेको छ । सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै बोर्डले उक्त तश्विर नियोजित रुपमा खिचिएको दाबी गरेको छ ।

चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिनेता सरोज खनालले राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ । शौचालयमै बस्नु पर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ ।’


‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ को सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयले कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराएका कारण त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जारी विज्ञप्तीमा उल्लेख छ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाएको स्पष्ट पार्दै बोर्डले सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी-कमजोरी भए क्षमा माग्ने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu