भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ को फाइनलमा पुगेर चौथो स्थान हासिल गरेका नेपाली मुलका आयुष केसीले पहिलो पटक नेपाली चलचित्रको गीत गाउने भएका छन् । केही दिन अगाडि ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार’ पाएका उनले ‘नाईं नभन्नू ल’ फेम्ड चाइल्ड आर्टिस्ट अनुभव रेग्मीका लागि गीत गाउन लागेका हुन् ।
भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हजार जुनीसम्म’ मा बाल कलाकार अनुभवको अभिनय छ । आयुषले गाउने गीतको भिडियोमा उनी फिचर्ड हुने निर्देशक विकासराज आचार्यले जानकारी दिए । उनले चलचित्रको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज भर्ने बताए । उक्त गीतले आयुषलाई थप उचाइमा पुर्याउने उनको विश्वास छ ।

यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, शिवहरी पौडेल, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, अखिलेस प्रधान, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । केही दिन अगाडि चलचित्रको ‘आज नगद भोली उधारो’ गीत सार्वजनिक भएको थियो, जसमा आर्यनसँग हास्यकलाकार दीपाश्री निरौलाले नृत्य गरेकी छन् ।
उक्त चलचित्रको ‘एमजी रोडैमा’ बोलको गीत पनि इन्टरनेट रिलिज भइसकेको छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । अनुभवकी आमा कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङ निर्मातामा छन् ।




