सिके राउतको जीवनमा बन्ने चलचित्रको घोषणा



विखण्डनवादी आन्दोलन छाडेर अखण्डतावादी राजनीतिमा प्रवेश गरेका मधेश अभियन्ता डा. सिके राउतको जीवनमाथि नेपाली चलचित्र निर्माण हुने भएको छ । चलचित्रको नाम ‘डा. सिके राउत’ राखिएको छ । यो चलचित्रको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गर्‍यो । फिल्ममा सिके राउतको भूमिका भोजपुरी चलचित्रका ‘पावर स्टार’ को रुपमा परिचित परदेशी शाहले निभाउनेछन् । उनी ‘एस.पी खरेल’ चलचित्रबाट चर्चामा आएका थिए ।

चलचित्रको घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए । दुई दर्जन बढी भोजपुरी चलचित्रको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहले फिल्मको निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि उनी स्वयंले तयार पारेका हुन् । नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने चलचित्रको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा हुने निर्माता बाबुले जानकारी दिए ।

‘डा. सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन । भदौबाट चलचित्रको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने निर्माण टिमको तयारी छ । अभिनेता शाहले फिल्ममा सिके राउतको भूमिका निर्वाहा गर्न पाउनु आफ्नो लागि ठूलो अवसर र चुनौती रहेको बताए ।

उनले भने, ‘सिके राउत सरको बोल्ने र हिँड्ने स्टाइल कपी गर्न मैले केही दिन उहाँको संगत गरेँ । अझै १०/१५ दिन उहाँसँग बसेर सिक्नु छ । यो चलचित्र मधेशको मात्र नभएर सिंगो नेपालको हो ।’ निर्देशक शाह भने अस्वस्थका कारण कार्यक्रममा उपस्थित भएका थिएनन् । पवन गौतमले खिच्ने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । बन्दे प्रसादले चलचित्रको सम्पादन गर्ने जिम्मेवारी पाएका छन् ।

रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने चलचित्रलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी काल्पनिक कथा जोडिने बताइएको छ । कार्यक्रममा बोल्दै राउतले यसअघि पनि मुम्बईको एक टिमले दुई पटक आफ्नो जीवनीमाथि चलचित्र बनाउने तयारी गरे पनि आफ्नै कारण निर्माण हुन नसकेको खुलाए । चलचित्रको टीजर हेरेपछि सन्तुष्ट देखिएका उनले मधेश आन्दोलनमा आफूले गरेको संघर्षको कथामा चलचित्र बन्ने बताए ।


‘चलचित्र बनाएपछि चल्नु पनि पर्छ । त्यसैले कमर्शियल बनाउन चलचित्रमा केही काल्पनिक कुराहरु पनि जोडिनेछ’, उनले चलचित्रलाई चलचित्रकै रुपमा बुझ्न आग्रह गर्दै अगाडि भने, ‘चलचित्रमा केही विवादस्पद कुरा पनि आउन सक्छन् । तर, त्यो एउटा इतिहास भइसकेको छ ।’ एउटा मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने कुरा चलचित्रमा देखाइने उनको भनाई छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रको निर्माण लागत डेढ करोड अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu