भटाभट चलचित्रमा काम गरिसकेका भर्सटायल अभिनेता सौगात मल्ल केही दिनयता चलचित्र ‘लप्पन छप्पन २’ को छायांकनमा व्यस्त छन् । मंगलबार राजधानीमा खिचिएको यो चलचित्रको एक महत्त्वपूर्ण सिनमा उनी निकै फरक गेटअपमा देखिए । उनले हाँकेको बाइकको अगाडि-पछाडि गाडी र बाइकको लस्कर, लामो खरानी रंगको कोट, कालो चश्मा र लामो विग (नक्कली कपाल) मा उनले फिल्ममा आफ्नो सिन दिए ।

उक्त दृश्यले चलचित्रमा उनी ग्याङस्टारको भूमिकामा रहेको प्रस्ट्याउँछ । फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् । यो चलचित्रको पहिलो पार्टमा पनि सौगात ग्याङस्टारको भूमिकामा थिए । फिल्ममा उनले नक्कली दात्त र बंगुरको मुखौटा लगाएका थिए । ‘लप्पन छप्पन २’ मा भने उनको गेटअपमा निकै परिवर्तन गरिएको छ । उनको ग्याङस्टार लुक्सले दर्शकमा चलचित्रप्रति उत्सुकता र कौतुहलता बढाएको छ ।
यसमा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाउनेछन् । तर, उनको भूमिका भने सकारात्मक रहेको निर्माण टिमको भनाई छ । यस चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । नेपालसहित अष्ट्रेलिया र युरोपमा खिचिने चलचित्रका छायाँकार पुरुषोत्तम प्रधान हुन् ।

चलचित्र फागुन ९ गते प्रदर्शनमा आउँदैछ । चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्ने चलचित्रको कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र छन् । निर्देशक मुकुन्द भट्ट र सुनिल निउरेको कथा रहेको चलचित्रमा मुकुन्द र सुनिललाई पटकथा लेखनमा अमित शर्माले सघाएका छन् । चलचित्रको संवाद भने सुनिलले तयार पारेका हुन् । यो चलचित्रलाई ‘डेन्जरस गेम’ भनिएको छ ।




