‘घर’ ले दर्शक भड्काउँदैन : अर्पण थापा



जीवन्त अभिनय गर्ने अभिनेता अर्पण थापाले ‘मुखौटा’, ‘आधा लभ’ र ‘सुनकेसरी’ गरि तीन चलचित्रको निर्देशन समेत गरिसकेका छन् । तर, उनी निर्देशित कुनै चलचित्रले राम्रो व्यापार गर्न सकेनन् । उनले चौथो पटक निर्देशन गरेको चलचित्र ‘घर’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यो हरर जनराको चलचित्र हो । यसअघि उनी निर्देशित चलचित्र ‘सुनकेसरी’ पनि हरर जनराकै थियो ।

हलिउड र बलिउडमा सफल मानिएको हरर जनरा नेपालमा असफल मानिन्छ । सम्भवतः हरर जनरामा बनेका कुनै नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार र दर्शकलाई सन्तुष्ट बनाउन सकेका छैनन् । अर्पण निर्देशित हरर चलचित्र ‘सुनकेसरी’ यसको गतिलो उदाहरण हो । यो चलचित्रबाट उनले हरर फिल्म रुचाउने दर्शक भड्काएको आरोप समेत लागेको छ । किनकि, चलचित्रले दर्शक तर्साएन, हँसायो ।

चलचित्र ‘घर’ मा अर्पण स्वयंको अभिनय छ । कथा पनि उनी आफैंले लेखेका हुन् । उनको अपोजिटमा अभिनेत्री द्वय सुरक्षा पन्त र बेनिशा हमाल छन् । नेपाली हरर चलचित्रले दर्शकलाई तर्साउन नसकिरहेको अवस्थामा ‘घर’ माथि निकै ठूलो अपेक्षा गरिएको छ । अर्पण दर्शकको अपेक्षा निराशामा परिणत नहुने दाबी गर्छन् । चलचित्र रिलिजको संघारमा अभिनेता तथा निर्देशक अर्पण थापासँग गरिएको संक्षिप्त कुराकानी यस्तो छ :-

१. नेपालमा हरर जनरा फ्लप मानिन्छ । किन फेरि दोस्रो पटक हरर जनरा नै रोज्नुभयो ?

नेपालमा हरर जनराको चलचित्र हेर्ने दर्शकको संख्या ठूलो छ । हो, नेपालमा बनेका हरर चलचित्रले राम्रो व्यापार गरेका छैनन् । तर, विदेशी हरर चलचित्रले नेपालमा मात्र नभएर संसारभर लोभलाग्दो कमाई गरेका छन् । यसले के देखाउँछ भने नेपालमा हरर चलचित्र हेर्ने दर्शक उल्लेख्य छन् । हामीले यसअघि प्रयास नगरेका पनि होइनौं । नेपाली हरर चलचित्रले दर्शकको अपेक्षा पूरा नगरेको यथार्थ हो । अब ‘घर’ ले गर्नेछ ।


२. तपाईंमाथि ‘सुनकेसरी’ बाट हरर जनराका दर्शक भड्काएको आरोप छ नी ?

नेपालमा वर्षमा कतिवटा चलचित्र फ्लप हुन्छ । सबै निर्देशक र सबै चलचित्र कहाँ हिट छन् र ! दर्शकले ‘सुनकेसरी’ हार्डकोर हरर चलचित्र भनेर बुझ्नुभयो, जुन चाहिँ लाइट-हाटेड हरर चलचित्र थियो । जसमा यादवजी (रविन्द्र झा) जस्तो क्यारेक्टर राखिएको थियो । काटमार थिएन । ब्लड कहिँ पनि देखिएको थिएन । त्यो चलचित्र हरर जनराको पनि ‘सब’ जनरामा पर्छ । ‘घर’ चाहिँ हार्डकोर हन्टेड हाउस हो ।

३. नेपाली हरर चलचित्र राम्रो बन्दैनन् भन्ने मानसिकता ‘घर’ ले तोड्न सक्ला ?

अझै पनि नेपाली हरर चलचित्रमा टेक्निकल एक्सपेक्ट पुग्दैन । तर, यसपटक चलचित्र ‘घर’ बाट नेपाली हरर फिल्म राम्रो बन्दैनन् भन्ने मानसिकता ताड्ने सम्भावना चाहिँ प्रवल छ । जति तपाईंहरुले ट्रेलरमा देख्नुभएको छ त्योभन्दा धेरै छ चलचित्रमा । भोली कमर्शियल रुपमा सफलता हात पार्न सक्छ वा सक्दैन त्यो दर्शकको हातमा छ । तर, अब कसैले हरर चलचित्र बनाउँछ भने त्यसका लागि हामीले ‘ट्रेन्ड मार्क सेट’ चाहिँ गरेका छौं ।

४. तपाईंले निर्देशन गरेका चलचित्रमा आफैं कलाकारको रुपमा पनि हुनुहुन्छ । के त्यो आवश्यक छ ?

आफूले निर्देशन गरेको चलचित्रमा आफैं कलाकारको रुपमा प्रस्तुत हुनुपर्छ भन्ने अनिवार्य त होइन । तर, थोरै सिन छ र आफूले गरेर निर्माताको पैसा बचाइन्छ भने गर्छु ।


५. अब तपाईंलाई कलाकार कम निर्देशक ज्यादा देख्न पाइने हो ?

नेपाली चलचित्रमा मलाई पहिलादेखि नै निर्देशकको रुपमा काम गर्ने इच्छा हो । ९० वर्ष पुगुन्जेलसम्म बढेस्कालको रोल पाए पनि वा नपाए पनि चलचित्र चाहिँ बनाउन पाउँछु भन्ने छ । अब बुढेस्कालमा पनि नेपाली चलचित्रसँग जोडिएर बस्ने बहाना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu