शुक्रबारबाट अर्पण थापा निर्देशित तथा अभिनीत हरर चलचित्र ‘घर’ देशैभरका हलमा एकसाथ प्रदर्शनमा आएको छ । यो चलचित्र सिंगल र मल्टीप्लेक्स स्क्रिन दुबैमा रिलिज भएको छ । चलचित्र ‘सुनकेसरी’ बाट हरर चलचित्रका पारखीलाई भड्काएको आरोप खेपेका अभिनेता टर्न निर्देशक अर्पण दर्शकको मनमा निरन्तर डर पैदा गर्न ‘घर’ सफल हुनेमा विश्वस्त छन् ।
यो चलचित्रले व्यावसायिक सफलता हात पारेको खण्डमा कमेडी र लभस्टोरीझैँ नेपालमा हरर फिल्म निर्माणमा पनि बाढी लाग्ने कतिपयको विश्लेषण छ । तर, इतिहास पल्टाएर हेर्ने हो भने नेपालमा हरर फिल्म सफल छैनन् । एक घरभित्र हुने भुत-प्रेतको कथामा चलचित्र ‘घर’ आधारित छ । अर्पणसँगै चलचित्रमा सुरक्षा पन्त र बेनिशा हमाल प्रमुख भूमिकामा छन् ।

यो चलचित्रको ट्रेलरले धेरैको ध्यान खिचेको छ । स्तरिय नेपाली हरर फिल्मको प्रतिक्षामा रहेका दर्शकलाई ‘घर’ उपयुक्त खुराक हुनसक्ने विश्वास गरिएको छ । चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के. खनाल निर्मातामा छन् । निरज कँडेलले चलचित्र खिचेका हुन् ।
सुरज पाण्डे प्रस्तुतकर्ता रहेको चलचित्रमा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । यसमा अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन् । अभिनेत्री बेनिशा भने भूतको भूमिकामा छन्, जसका लागि उनले गेटअप परिवर्तन गरेकी छन् ।




