कलाकारहरुको नजरमा उत्कृष्ट ‘सानो मन’



काठमाण्डौ। गत साता रिलीज भएको नेपाली चलचित्र ‘सानो मन’ले बिहिवार राजधानीमा ‘सेलिब्रेटी शो’ आयोजना गरेको छ । उक्त शोमा नायिका नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा बिश्वकर्मा, निर्देशक दीपाश्री निरौला, अभिनेता दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री हजुर’, दीपक आचार्य लगायतको उपस्थिती रहेको थियो ।

चलचित्र हेरेपछि उपस्थित सबैले तारिफ गरेका छन् । चलचित्रको छायांकन तथा प्रस्तुतीलाई उनिहरुले रुचाएको बताए भने चलचित्रले आफुहरुलाई रुवाएको समेत बताए । नायिका नम्रता श्रेष्ठले चलचित्र एकदमै मिठो लागेको बताईन् । चलचित्र एकदमै मिठो लाग्यो । दुई जना पात्रलाई एकदम राम्रो ढंगले अगाडी लगिएको छ । धेरै दृश्यहरुले मलाई भावुक बनाए’, सञ्चारकर्मीसँगको कुराकानीमा श्रेष्ठले बताईन् ।

नायिका केकी अधिकारीले यो टीमबाट यति धेरै अपेक्षा नगरेको तर त्यसबारेमा आफु गलत साबित भएको बताईन् । उनले नेपाली चलचित्रबाट धेरै नै आशा राख्ने दर्शकलाई सानो मन हेर्नको लागि अनुरोध गरिन् । नायिका रीमा बिश्वकर्माले चलचित्र हेर्दा हेर्दै अन्त्यतिर आफु रोएको बताईन् । उनले भनिन्, ‘चलचित्रले अन्त्यतिर मलाई रुवायो, त्यतिबेला म मा अक्क न बक्कको स्थिती आएको थियो’ ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रका कलाकारहरुको प्राकृतिक सुन्दर अभिनय देखेर लोभ लागेको बताईन् । कलाकार केदार घिमिरेले ‘सानो मन’ फरक कथामा सुन्दर अभिनय रहेको चलचित्र बनेको बताए । ‘फिल्मको अन्त्यतिर आँशु आयो । एकदमै मन छुने खालको चलचित्र छ । सबैको सुन्दर अभिनय छ’ उनले भने ।

अभिनेता दीपक राज गिरीले चलचित्रको सबैभन्दा राम्रो पक्ष यसको प्रस्तुती रहेको बताए । ‘छायांकन पक्ष एकदमै सुन्दर छ । प्रेमकथा हेर्ने दर्शकको लागि राम्रो रोजाई हुनसक्छ । धेरै नेपाली चलचित्र भन्दा यो राम्रो छ’, चलचित्र हेरेपश्चात गिरीले बताए ।

गत साता रिलीज भएको ‘सानो मन’ले दर्शक तथा सञ्चारकर्मीबाट पनि निकै राम्रो प्रतिक्रिया पाएको छ । रिलीज देखी नै भारी बर्षातले अवरोध गरेपछि यो चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेको थिएन । यद्यपी सबैबाट राम्रो प्रतिक्रिया बटुलिरहेको चलचित्रले दोश्रो हप्तामा व्यापारमा प्रगती गर्ने अपेक्षा निर्माण पक्षले राखेको छ ।

सुयोग गुरुङ्गले निर्देशन गरेको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रमा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ ।

आलोक शुक्लाको डि.ओ.पि. रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu