शुक्रबारबाट प्रदर्शनमा आएको अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’ लाई बिहानी शोमा ४५ देखि ५० प्रतिशतको आसपासमा अकुपेन्सी मिलेको छ । ६० लाखमा हल पुगेको यो चलचित्रको डिजिटल राइट्स ३५ लाखमा विक्री भइसकेको छ । अब चलचित्रले हलबाट २५ लाख कमाएको खण्डमा निर्माताको लगानी सुरक्षित हुनेछ । निर्मात्री शर्मिला पाण्डेले चलचित्रले सजिलै लगानी उठाउने र ‘घर’ को आठ वटासम्म सिक्वेल बनाउने लक्ष्य रहेको बताएकी छन् ।
शुक्रबार बिहान राजधानीको बिग मुभिजमा पत्रकारका लागि चलचित्रको विशेष शो राखिएको थियो । फिल्म हेर्ने पत्रकारबाट पाएको सकारात्मक प्रतिक्रियाले हौसिएका निर्देशक तथा कलाकार अर्पणले शुक्रबार र शनिबारको व्यापारले ‘घर’ को सिक्वेल बन्ने वा नबन्ने निर्धारण गर्ने बताए । चलचित्रको अन्तिममा ‘टु वि कन्टिन्यू’ भनेर लेखिएको छ । निर्देशक थापा चलचित्रको सिक्वेल निर्माण गर्ने तयारी भने रहेको बताउँछन् ।

चलचित्रमा अर्पण थापा र सुरक्षा पन्त श्रीमान्-श्रीमतीको भूमिकामा छन् । बेनिशा हमालले सुरक्षाको बहिनीको भूमिका निभाएकी छन् । वर्षौदेखि भाडाको कोठामा बस्दै आएका अर्पण र सुरक्षा काठमाडौंमा सस्तोमा घर भेटिएपछि किन्छन् । नयाँ घरमा सरेपछि आत्माले उनीहरुलाई कसरी दुःख दिन्छ भन्ने कथामा चलचित्र आधारित छ । चलचित्रले केही हदसम्म मनमा डर पैदा गराउन सफल छ । चलचित्रलाई दर्शकले रुचाउन सक्ने देखिन्छ ।
हरर चलचित्र हेर्न नसक्ने अभिनेत्री सुरक्षाले डरका कारण आफ्नै चलचित्र राम्रोसँग हेर्न नसकेको बताइन् । ‘मलाई थाहा थियो योपछि यो सिन आउँछ भनेर । तरपनि डरले गर्दा ६०/७० प्रतिशत सिन मात्र हेर्न सकेँ । बाँकी सिनमा त मैले आँखै छोपेको थिएँ’, उनले भनिन् । फरक जनराको पखाईमा रहेका दर्शकलाई यो चलचित्रले निराश बनाउने उनको विश्वास छ । निर्देशक थापा ‘सुनेकसरी’ मा भएका कमी-कमजोेरी ‘घर’ मा सुधार्ने प्रयास गरेको बताए ।



