पानी नपर्दा छायांकन सुरु हुन नसकेको दीपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्र ‘आमा’ बाट आमाको भूमिकामा अनुबन्ध भएकी सूर्यमाला खनालले हात झिकेकी छन् । उनको ठाउँमा अभिनेत्री मिथिला शर्माको प्रवेश भएको छ । ‘राम्ररी पानी नपरेका कारण चलचित्रको छायांकन गर्न सकेका छैनन् । यही ताल हो भने चलचित्रको छायांकन पूरा हुन एक/डेढ वर्ष नै लाग्नसक्छ’, निर्देशक खनाल भन्छन्, ‘उहाँ (सूर्यमाला खनाल) असोजमा जसरी पनि पारिवारिक कामले अमेरिका जानु पर्ने भएकाले चलचित्र गर्न सक्नुभएन ।’
क्यारेक्टरमा सुहाउने भएकै कारण सूर्यमालाको ठाउँमा मिथिला शर्मालाई अनुबन्ध गरेको उनले बताए । निर्देशक खनाल कृत्रिम पानी झारेर चलचित्रको छायांकन गर्ने पक्षमा छैनन् । उनी भन्छन्, ‘चलचिको छायांकन त सुरु भइसकेको छ तर महत्त्वपूर्ण खिच्न पाएका छैनौं । म कम्प्रमाइज गर्दिन भनेर पानी कुरिरहेको छु । किनकि, चलचित्रमा अधिकांश दृश्यमा पानी देखाउनु पर्नेछ । सिनेम्याट्रिक फिल निकाल्नका लागि म उपयुक्त समय नै पर्खिरहेको छु ।’

उनका अनुसार, चलचित्रमा इन्डोरमा पनि पानी परेको देखाउनु पर्ने धेरै सिनहरु छन् । साउन दोस्रो सातामा पानीले साथ दिनेमा उनी ढुक्क छन् । ‘पशुपति प्रसाद’ पछि समीक्षात्मक र व्यावसायिक सफल चलचि दिन नसकेका उनी ‘आमा’ ले दर्शकको अपेक्षा पूरा गर्ने बताउँछन् । यो चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् ।
काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने चलचित्रका सह–निर्मातामा सन्तोष अधिकारी छन् । आउँदो फागुन ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘आमा’ मा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि चलचिमा अभिनय रहनेछ । शर्मिला पाण्डेले निर्माण गर्ने चलचिको कथा निर्देशक खनाल स्वयंले तयार पारेको हुन् । उनी आफैंले चलचित्रको छायांकन गर्नेछन् । यसअघि उनले चलचित्र ‘धनपति’ खिचेका थिए ।




