साउन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘न यता न उता’ को आइतबार अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सबैलाई स्थान दिइएको छ । विशारद बस्नेत र मिराज रोशको संयुक्त निर्देशन रहेको चलचित्र कमेडी विषयवस्तुमा निर्माण भएको सार्वजनिक पोस्टरले प्रस्ट्याउँछ ।

पोस्टरले चलचित्रप्रति दर्शकमा कौतुहलता बढाउने देखिन्छ । ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा रहेको चलचित्रमा ऋचा शर्मा, मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।
चलचित्रको यसअघि सार्वजनिक भएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रमा अरोन अशोक कुमारको छायांकन छ । दुई अर्धबैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मध्येका एक विशारदले बताए । यस चलचित्रले उठाएको कथा नेपाली चलचित्रमा नै पहिलो पटक रहेको उनको भनाई छ ।




