हेमाले दिइन् छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी



चलचित्र निर्माता छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि घटनाले रोचक मोड लिएको छ ।

हेमाले दिएको जाहेरीमा लेखिएको छ, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’ छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।

अभिनेत्री शिल्पा पोखरेलले गएको महिना प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको उजुरी दिएकी थिइन्, श्रीमान् ओझाविरुद्ध । प्रहरी कार्यालयमा दुईले अब कहिल्यै झगडा नगर्ने भन्दै कागजी सहमति गरे पनि शिल्पा अब घर नफर्किने अडानमा छिन् । निर्माता ओझा भने उनलाई घर फर्किन आग्रह गरिरहेका छन् ।

उनले आफू शिल्पाकै काखमा प्राण त्याग्ने इच्छा रहेको बताएका छन् । शिल्पाले भने अब आफू कुनै हालतमा श्रीमान ओझासँग नबस्ने बताउँदै आएकी छन् । उनले डिभोर्सका लागि अदालतमा निवेदन दिइसकेको बताएकी छन् । २०७३ असार २९ गते सुटुक्क विवाह गरेका छवि र शिल्पाले गएको ६ महिना अगाडि विवाह दर्ता गरेका थिए । तर, दुईले लामो समय यो कुरा लुकाउँदै आएका थिए ।

के छ बहुविवाहको कानुन ? 
नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । त्यस्तै, बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरेको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu