एक समय नेपाली चलचित्रमा अभिनेता दीलिप रायमाझीको राम्रो दबदबा थियो । तर, विस्तारै क्रेज खस्किन थालेपछि उनी परिवारसँग अमेरिका पलायन भए । अमेरिका कम नेपालमा बढी बस्ने उनी लामो समयपछि ठूलो पर्दामा देखिने भएका छन् । रिम विश्वकर्माको निर्माण र निर्देशन रहने चलचित्र ‘हेल्लो काँशीराम’ मा उनको प्रमुख भूमिका रहनेछ । केही दिनयता यस चलचित्रको धमाधम छायांकन भइरहेको छ । चलचित्र कमेडी जनरामा निर्माण हुने बताइएको छ ।

नवज्योति रसाइलीसँग चलचित्रमा दीलिपले रोमान्स गर्नेछन् । पी.बि.थापा सह-निर्माता रहेको चलचित्रलाई यम आले मगरले खिचिरहेका छन् । जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । चलचित्रको छायांकन २५ दिनमा सक्ने निर्माण टिमको लक्ष्य छ । ‘हेल्लो काँशीराम’ मा शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
चलचित्रमा दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् । दिलिप र नवज्योतिको अलावा चलचित्रमा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राई, सरोज केसी, सुमन खाँडलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता दीलिपले राम्रो स्क्रिप्ट र दमदार भूमिका भएका कारण चलचित्र गर्न राजी भएको बताएका छन् ।




