‘कबड्डी कबड्डी कबड्डी’ गीत विवाद टुंगियो



भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ गीत विवाद टुंगिएको छ । एसडी योगीले संगीत भरेको चलचित्रको ‘दुबो फूल्यो’ को उठान (संगीत) संगीतकार आलोकश्रीको ‘कहिले फोटो सिरानीमा’ गीतको संगीतसँँग मिलेपछि विवाद सतहमा आएको थियो । आलोकश्रीले सहमति नजुटे कानुनी उपचार खोज्ने भन्दै फिल्मको निर्माण टिमलाई चेतावनी समेत दिएका थिए । अन्ततः आपसी समझदारीमा गीत विवाद सुल्झिएको छ ।

‘गीतको संगीत मिल्नु संयोग मात्र भएको र आइन्दा गीतको विषयमा कुनै पनि विवाद नझिक्ने’ भन्दै आलोकश्री र फिल्मको निर्माण टिमबीच सहमति भएको जानकारी प्राप्त छ । गीतको संगीत मिलेपछि संगीतकार आलोकश्रीले क्षतीपूर्ती स्वरुप निर्देशक तथा निर्माता रामबाबु गुरुङसँग ५ लाख मागेको र माग गरे जति रकम नपाए कानुनी उपचार खोज्ने तयारीमा रहेको बजारमा चर्चा चलेको थियो ।

तर, बजारको हल्लाझैँ आफूहरुबीच कुनै पनि आर्थिक लेनदेन नभएको संगीतकार आलोकश्रीले स्पष्ट पारेका छन् । गीत विवाद सुल्झिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीबीच केही क्षतीपूर्तीको कुरा नभएको होइन । तर, मैले पाँच लाख मागेको भन्ने कुरा चाहिँ विल्कुलै गलत हो ।’ संगीतकार एसडी योगीले पनि आलोकश्रीले पाँच लाख मागेको कुरा गलत रहेको बताए ।

लोक भाकाको गीतमा संगीतको एक/दुई अंश मिल्नु स्वभाविक रहेको बताउँदै उनले अगाडि भने, ‘आलोकश्री दाईले नयाँ भाई हो भनेर मलाई माफी दिनुभएको छ । मैले यसअघि ‘कहिले फोटो सिरानीमा’ सुनेको थिइनँ । गीतको संगीत मिल्नुु संयोग मात्र हो । चोर्ने नियत चाहिँ होइन ।’ संगीतकार आलोकश्री पनि गीतको उठान दुरुस्तै मिल्न जानु संयोग मात्र रहेको बताउँछन् ।

विवाद टुंगिएपछि निर्माण टिमले गीतमा आलोकश्रीको नाम ‘विशेष धन्यवाद’ मा राखेको छ । गीत विवाद सुल्झिएपछि ‘कबड्डी कबड्डी कबड्डी’ टिमले सन्तोषको सास फेरेको छ । अब,चलचित्रको प्रचारलाई तिव्र बनाउने तयारीमा निर्माण टिम छ । चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायतको अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu