आर्यनको ‘हजार जुनीसम्म’ ट्रेलर सार्वजनिक (भिडियो)



साउन ३० गतेबाट प्रदर्शनमा आउन लागेको विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनीसम्म’ को शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको बताइएको यो चलचित्रको ट्रेलर निकै कन्फ्यूजन छ । को-कसको जोडी भन्ने छुट्याउन गाह्रो पर्छ ।

फ्लोरमा निस्कँदै गर्दा चलचित्रमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीको जोडी रहेको निर्माण टिमले जानकारी गराएको थियो । तर, ट्रेलरमा प्रियंकालाई लुकाइएको छ । न त यसअघि पोस्टरमा नै स्थान दिइएको थियो । ट्रेलरले आर्यनको जोडी अभिनेत्री स्वस्तिमा खड्का हुनसक्ने संकेत गर्छ । यद्यपि, दुईलाई ट्रेलरमा एकसाथ देखाइएको भने छैन ।

ट्रेलरमा आर्यन र स्वस्तिमासँगै अभिनेता सलोन बस्नेत, नव-अभिनेता अखिलेस प्रधान, अभिनेत्री सञ्चिता लुईंटेल, बाल कलाकार अनुभव रेग्मी, हास्य कलाकार शिवहरी पौडेललगायतका कलाकारलाई पनि अटाइएको छ । सलोनले बोलेका संवादहरु रमाइला छन् । चलचित्रमा आर्यन दुई चरित्रमा प्रस्तुत छन् । उनले चलचित्रमा आफूले विल्कुलै फरक भूमिका निर्वाहा गर्न पाएकोमा खुसी व्यक्त गरे । यसमा उनले एउटा जवान युवक र अर्को पाको उमेरको पुरुषको चरित्र निभाएका छन् ।

ट्रेलर रिलिज कार्यक्रममा आफ्नो चरित्रबारे जानकारी दिँदै उनले भने- ‘यो नितान्त पारिवारिक चलचित्र हो । यसअघि जसरी विकास दाई (निर्देशक विकासराज आचार्य) ले सफा मनछुने चलचित्र बनाउनु हुन्थ्यो त्यस्तै चलचित्र ‘हजार जुनीसम्म’ बनेको छ । चलचित्रमा मैले आफूभन्दा २५ वर्ष जेठो भूमिका निर्वाहा गर्न पाएको छु ।’ अभिनेत्री स्वस्तिमाले फिल्म राम्रो बनेको बताउँदै आफ्नो भूमिका दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरिन् ।

चलचित्रलाई पुरुषोत्तम प्रधानको खिचेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् । ‘हजार जुनीसम्म’ को कथा विशाल चाम्लिङ्गको हो । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । पोखरा, मुग्लिन, हेटौंडा, दमक र दार्जिलिङलगायतका ठाउँमा चलचित्र खिचिएको छ ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu