केही समययता अभिनेत्री प्रियंका कार्कीलाई चलचित्रको पोस्टर र ट्रेलरमा समेत अटाउन छाडिएको छ । यसको प्रमुख कारण उनको खस्किँदो क्रेजलाई मानिएको छ । उनलाई प्रचार सामाग्रीमा देखाए दर्शक भड्किने डर चलचित्रकर्मीमा देखिन थालेको छ । यसको गतिलो प्रमाण हो, चलचित्र ‘हजार जुनीसम्म’ । यो चलचित्रमा उनको महत्त्वपूर्ण भूमिका छ । उनी अभिनेता आर्यन सिग्देलको अपोजिटमा छिन् । तर, निर्माण टिमले चलचित्रको न पोस्टर न त ट्रेलरमा नै उनलाई स्थान दियो ।
शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा समेत प्रियंका देखिइनन् । चलचित्रको पोस्टरमा प्रियंकालाई अटाए चलचित्र हो वा म्यूजिक भिडियो भन्नेमा दर्शक कन्फ्युज हुने भएका कारण निर्माण टिमले उनलाई स्थान नदिएको चर्चा फिल्मवृतमा छ । तर, ट्रेलरमा चाहिँ किन स्थान दिइएन ? सबैमा चासो छ । ट्रेलर सार्वजनिक कार्यक्रममा लेखक सामिप्यराज तिमल्सिनाले चलचित्रको सस्पेन्स कायम गर्न प्रियंकालाई पोस्टर र ट्रेलरमा नअटाएको बताए ।

कानमा समस्या भएपछि कार्यक्रममा उपस्थित नभएका निर्देशक विकासराज आचार्यको बोली बोल्दै लेखक तिमल्सिनाले भने- ‘प्रियंकालाई लुकाउनु हाम्रो स्टाटेजी पनि हो । खासमा हामीले सस्पेन्स बनाउन खोजेका हौं । चलचित्र हेरेपछि उहाँलाई लुकाउनुको कारण खुल्नेछ ।’ उनले प्रियंकाको क्रेज खस्किएका कारण चलचित्रको पोस्टर र ट्रेलरमा लुकाएको आरोपको भने खण्डन गरे ।
‘हामीले चलचित्रमा लिएका सबै कलाकार हाम्रो लागि बेस्ट हुनुहुन्छ । हामीले कुनै पनि कलाकारलाई स्टारडमको आधारमा ट्रिट गर्दैनौं । प्रियंका जीलाई पनि हामीले त्यो आधारमा ट्रिट गरेका होइनौं । हाम्रो कन्टेन्टमा केही लुकाउनु पर्ने छ । त्यही भएर उहाँलाई लुकाइएको हो’, उनले स्पष्ट पारे । साउन ३० मा रिलिज हुने चलचित्र ‘हजार जुनीसम्म’ मा आर्यन र प्रियंकासँगै स्वस्तिमा खड्का, सञ्चिता लुईंटेल, अनुभव रेग्मी, सलोन बस्नेतललगायतका कलाकारहरुको अभिनय छ ।




