असार २७ गतेबाट मुलुकभर प्रदर्शनमा आएको म्यूजिकल लभस्टोरी चलचित्र ‘सानो मन’ ले शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन सुरु गरेको छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनीत यस चलचित्रले तेस्रो हप्तामा पनि दर्शकको साथ राम्रो पाएको निर्माण टीमले बताएको छ । तेस्रो हप्तामा पनि यो चलचित्र केही सिंगल र मल्टीप्लेक्स स्क्रिनमा प्रदर्शनरत छ ।
‘सानो मन’ बाट निर्देशनमा डेब्यू गरेका निर्देशक सुयोग गुरुङले दर्शकले चलचित्र निकै रुचाएको बताए । उनी भन्छन्, ‘दर्शकको सन्तुष्टि नै हाम्रो सफलता हो । दर्शकहरु चलचित्र हेरेपछि खुसी भएर घर फर्किनु भएको छ । योभन्दा ठूलो सफलता हाम्रो लागि अरु हुनै सक्दैन । हामीले दर्शकको स्वादलाई बुझेर चलचित्र बनाएका थियौं, जसमा हामी सफल भएका छौं ।’ उनले चलचित्रको व्यापार पनि राम्रो रहेको बताए ।

यो चलचित्रबाट निर्देशनमा सुयोगले राम्रो सम्भावना देखाएका छन् । भोलीका दिनमा उनीबाट अझ सशक्त चलचित्रको अपेक्षा राख्न सकिन्छ । अभिनेता आयुष्मान चलचित्रका मेरुदण्ड हुन् । उनको अभिनय उम्दा छ । शिल्पाले पनि आफ्नो तर्फबाट उत्कृष्ट काम पस्किन चुकेकी छैनन् । सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय पनि राम्रो छ । आलोक शुक्लाको उम्दा छायांकनले चलचित्रमा प्राण भरेको छ ।
राजधानीको गोपीकृष्ण मुभिज, गुण सिनेमा, बाराहीसँगै मोफसलका केही सिंगल थिएटरमा अझै प्रदर्शनरत यो चलचित्र मल्टीप्लेक्सतर्फ क्यूएफएक्स च्यानलको सिभिल मलमा एक शोमा चलिरहेको छ । चलचित्रलाई उपलब्ध सोजमा दर्शक अकुपेन्सी सन्तोषजनक रहेको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए । यस चलचित्रमा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ । आयुष्मान र शिल्पाको प्रेमले दर्शकलाई अपनत्व महसुस गराउँछ ।
यो चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यसमा समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् । आयुष्मान र शिल्पा पनि चलचित्रलाई मिलेको प्रतिक्रियाले खुसी छन् ।




